चोलेन्द्रको पक्राउ स्वेच्छाचारी र शक्तिको दुरूपयोग: मानव अधिकार संगठन

काठमाडौं । पूर्व प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराको पक्राउ स्वेच्छाचारी रहेको भन्दै नेपाल मानव अधिकार संगठनले सरकारको ध्यानाकर्षण गरेको छ ।

बिनाकुनै कसुर पक्राउ गर्ने, हिरासतमा राख्ने कार्य गरी व्यक्तिको मानमर्दन गरिएको भन्दै संगठनले सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो ।

संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले सोमबार (असोज १२) एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “कुनै पनि व्यक्तिलाई बिनाकसुर स्वेच्छाचारी ढंगले राज्यले नियन्त्रणमा लिने कार्य नेपालको संविधान, वैयक्तिक अधिकार, प्रचलित कानुन, नेपाल पक्ष राष्ट्र भई हस्ताक्षरित मानवअधिकार कानुन तथा मानवअधिकार विश्वव्यापी घोषणापत्र समेतको उपहास हो भन्ने यो संगठनको ठहर छ ।’’

लोकतान्त्रिक प्रणाली पदीय व्यक्तिको मनोमालिन्य र स्वेच्छाचारिताबाट नभई मानवअधिकार, शक्ति सन्तुलनको सिद्धान्त, संविधानवाद, विधिको शासन र मौलिक तथा वैयक्तिक अधिकारको सम्मानबाट मात्र चल्न सक्ने संगठनको ठहर छ ।

“वर्तमान सरकारलगायत सम्पूर्ण सरोकारवाला व्यक्ति तथा निकायहरूमा राज्यशक्तिको दुरुपयोग र स्वेच्छाचारिताबाट शासन नगर्न तथा संविधान र लोकतान्त्रिक मूल्य मान्यता अनुरूप विधिको शासनको सम्मान गर्न यो संगठन हार्दिक अपिल गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।

बाह्रखरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *