रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

रसुवा । भोटेकोशी बाढीबाट रसुवाका निजी विद्यालयमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ । बाढीमा परी ठूलो सङ्ख्यामा विद्यार्थी र अभिभावक बेपत्ता भएका छन् । सयौँको सङ्ख्यामा अभिभावक गुमाएपछि धेरै बालबालिका विचल्लीमा परेका छन् । बाढीपछि विद्यालयको पठनपाठनसमेत प्रभावित भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष पासाङ लामाका अनुसार जिल्लाका विभिन्न संस्थागत विद्यालयमा अध्ययनरत ३८ जना विद्यार्थी बाढीमा परी बेपत्ता भएका छन् ।

गोसाइँकुण्ड बोर्डिङ स्कुलका १९ जना, मोडर्न ट्रिनिटी बोर्डिङ स्कूलका १० जना र हाइल्याण्ड आवासीय माध्यमिक विद्यालयका नौ जना विद्यार्थी बेपत्ता भएका छन् । बाढीकै कारण २०१ जना अभिभावकसमेत बेपत्ता छन् । प्याब्सनको तथ्याङ्कअनुसार गोसाइँकुण्ड बोर्डिङका ४६ जना, हाइल्याण्ड आवासीय माविका ४२ जना, नमूना एभरग्रिनका ४१ जना, मोडर्न ट्रिनिटीका ३३ जना, ग्रीनगार्डनका २५ जना, नर्थपोलका नौ जना र हिमालयनका पाँच जना विद्यार्थीले आफ्ना अभिभावक गुमाएका छन् ।

आफ्ना आमाबुबा तथा अभिभावक गुमाएपछि ती स्कुले बालबालिकाको पठनपाठन अन्योलमा परेको छ । आश्रय र संरक्षणको अभावमा सयौँ बालबालिका हाल गम्भीर मानसिक तथा भौतिक सङ्कट व्यहोर्नु परेको छ । बाढीले विभिन्न भौतिक संरचनासहित शैक्षिक संस्थामा पनि क्षति पुगेको छ । बाढीकै कारण मोडर्न ट्रिनिटी बोर्डिङ स्कुलका संस्थापक प्रधानाध्यापक सुरोज डङ्गोल र एक शिक्षिका बेपत्ता भएका छन् ।

प्याब्सन रसुवाका अध्यक्ष लामा भन्छन्, “विद्यालय छात्रावासमा रहेका अभिभावक विहीन विद्यार्थीको खानपान तथा विद्यालय तत्काल सञ्चालनमा ल्याइ आवश्यक खाद्यान्नसहितका सामग्री उपलब्ध गराइएको छ ।”

जिल्लाका संस्थागत सात विद्यालयमध्ये पाँच वटा विद्यालय पुनः सञ्चालनमा आइसकेका छन् । ठूलो क्षति ब्यहोर्न परेका दुई विद्यालय पनि केही समयमै सञ्चालनमा ल्याउने आवश्यक तयारी भइरहेको जनाइएको छ ।

प्रभावित बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न प्याब्सन रसुवाले थप सहयोगका सबैसँग अपिल गरेको छ । केन्द्रीय प्याब्सनको समन्वयमा अभिभावक गुमाएका तथा बाढीप्रभावित बालबालिकालाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाउन विभिन्न पहल र कोसिस भइरहेको जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *