न्यूयोर्क । प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि स्थानीय समयअनुसार साँझ ६:३० बजे राष्ट्रसंघ मुख्यालयमा महासचिव गुटेरेससँग भेटवार्ता गर्नुभएकाे हाे ।
भेटमा महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताउनुभयाे । उहाँले नेपाली युवा प्रतिनिधिमण्डलको प्रशंसा गर्दै नेपालसँग निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
प्रधानमन्त्री शाहले नेपालप्रतिको सद्भावका लागि गुटेरेसलाई धन्यवाद दिँदै सफल कार्यकालका लागि बधाई दिनुभयाे । भेटमा भोटेकोशी विपद्, हिमताल फुट्ने जोखिम, नदी किनारका बासिन्दाको पुनर्वास र हरित पुनर्निर्माणका विषयमा छलफल भएको थियो ।
यस्तै, अतिकम विकसित राष्ट्र (एलडीसी) सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थप गर्नका लागि समर्थन जुटाउने विषयमा समेत कुराकानी भएको जनाइएको छ ।
