तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज तनहुँको भानु नगरपालिका–४, चुँदी रम्घामा ‘भानु साहित्य उद्यान’ को शिलान्यास गर्नुभयो।
आदिकवि भानुभक्त आचार्यको जन्मभूमिमा निर्माण हुने यो उद्यान नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यका साथ अघि बढाइएको हो । यो आयोजना राष्ट्रपति पौडेलकै विशेष परिकल्पनामा तयार भएको हो र सरकारले यसलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको छ ।
सरकारले विनियोजन गरेको २० करोड रुपैयाँ बजेटबाट पहिलो चरणको निर्माण सुरु हुँदैछ, जसअन्तर्गत आधुनिक ‘भानु भवन’ बनाइनेछ। भविष्यमा उद्यानभित्र सातै प्रदेशका सांस्कृतिक सम्पदाका नमूना र साहित्यकारहरूको सालिक पनि राखिने योजना छ ।
भानु नगरपालिकाका उपप्रमुख उमा गोतामेका अनुसार यो उद्यान भौतिक संरचना मात्र नभई अनुसन्धानकर्ताहरूको महत्वपूर्ण केन्द्र बन्नेछ । आयोजना सम्पन्न भएपछि चुँदी रम्घा विश्वभरका नेपाली साहित्य अनुरागीहरूको प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।
