रसुवामा बाढी: मितेरीपुल भाँचियो, कन्टेनर र ईभी गाडी बगायाे

रसुवा । अविरल वर्षाका कारण छिमेकी चीनको तिब्बत क्षेत्रतर्फको भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन सिमानाका रसुवागढीस्थित मितेरीपुल भाँचिएको छ । आज बिहान ३:१५ बजे गोसाइँकुण्ड गाउँपालिका–२ मा अवस्थित पुल बिचबाट भाँचिएर बगाएको सशस्त्र प्रहरी बल टिमुरेले जनाएको छ ।

बाढीले टिमुरेस्थित भन्सार यार्डमा पसेर केही लोड कन्टेनर डिब्बाहरू तथा पार्क गरिएको करिब ७/८ वटा विद्युतीय गाडीहरू पनि बगाएको छ । साथै, रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैगरी भन्सार यार्डमा रहेका ९ जना स्थानीय नागरिक, एक जना नेपाल प्रहरी र बीओपी टिमुरेमा कार्यरत सशस्त्र प्रहरी प्रदीप वाग्ले चारै तिरबाट बाढीले घेरेपछि फसेका छन् । उनीहरूलाई उद्धार गर्ने प्रयास भइरहेको छ । तर, नदीको बहाव तीव्र बन्दै गइरहेकोले उद्धार कार्यमा कठिनाइ भएको जनाइएको छ । हालसम्म कुनै मानवीय क्षति भने रिपोर्ट गरिएको छैन ।

सशस्त्र प्रहरी निरीक्षक प्रकाश पाण्डेको कमाण्डमा बीओमी टिमुरेबाट २० जनाको टोली खटिएको छ । यसैगरी विहान ५ बजे नं. २० गुल्म रसुवाबाट रविन्द्र दाहालको कमाण्डमा २१ जना टोली (जसमा ७ जना विपद् व्यवस्थापन तालिमप्राप्त) उद्धार सामग्रीसहित स्याफ्रुबेसीबाट घटनास्थलतर्फ पठाइएको छ । तर, सडक चर्केर अवरूद्ध भएकाले उनीहरू ६:२० बजेपछि पैदलमार्ग हुँदै गइरहेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयाे ।

यसैबिच, बिहान ५:५५ बजे तातोपानीस्थित पासाङल्हामु राजमार्ग अन्तर्गत स्याफ्रुबेसी–रसुवागढी सडक खण्डमा पनि बाढी र पहिरोले सडक पूर्णरूपमा कटान गर्दै अवरूद्ध बनाएको सशस्त्र प्रहरीले जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार भोटेकोशीमा बहाव अझै कम नभएकाले तटीय क्षेत्रका नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *