काठमाडौं । अमेरिकाको टेक्सासमा भीषण वर्षापछि आएको बाढीमा परी मृत्यु हुनेको संख्या ८१ पुगेको छ ।
शुक्रबार भारी वर्षा पछि ग्वाडेलुप नदीमा आएको बाढीमा परी हालसम्म ४० जना महिला, १२ पुरूष र २८ बालबालिकाको मृत्यु भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अमेरिकी मिडिया सिएनएनका अनुसार बाढीमा अझै ४१ जना बेपत्ता छन् ।
टेक्सासको केर काउन्टीस्थित ग्वाडेलुप नदी किनारमा रहेको क्याम्प मिस्टिकमा यो साता सैयौं छात्रा र उनीहरूको अभिभावक ग्रीष्मकालीन शिविरमा सहभागी थिए । क्याम्प मिस्टिकमा ग्वाडेलुप नदीको बाढी पस्दा त्यहाँ रहेका छात्रा, प्रशिक्षक, कर्मचारीको मृत्यु भएको छ ।
शिविरमा सहभागी भएका २८ छात्राहरूको मृत्यु भएको बिबिसीले जनाएको छ । शिविरकै १० जना छात्रा अझै हराइरहेका छन् । एक छात्रालाई बचाउने क्रममा शिविरका निर्देशक डेक इस्टल्याण्डको पनि मृत्यु भएको छ ।
मृत्यु भएकामध्ये ६८ जना केर काउन्टीका छन् । जसमा शिविरका बालबालिकासहित त्यहाँका स्थानीय पनि छन् ।
बाढीमा परी ट्राविस काउन्टीमा ६ जना, बर्नेट काउन्टीका ३ जना, केन्डल काउन्टीमा २ जना, विलियमसन काउन्टीका २ जना र टम ग्रीन काउन्टीमा एक जनाको मृत्यु भएको सिएनएनले जनाएको छ ।
मानिसहरू घरमा सुतिरहेको बेला बाढी आएका कारण धेरै जनधनको क्षति भएको हो । अधिकारीहरूले बाढीको पूर्वसूचना समयमै नदिएका कारण पनि ठूलो क्षति भएको हो ।
टेक्सासको आपतकालीन व्यवस्थापन विभागका प्रमुख ड्यान मिलरले भन्नुभयो, ‘हामीले धेरै ढिलो चेतावनी पठायौँ । बाढी धेरै छिटो आयो र मध्यरातमा सबै अन्धकारमा थिए । यति ठूलो क्षति हुनुमा प्राकृतिक आपदा मात्र होइन, हाम्रो अलिकति ढिलाइका कारण पनि हो ।’
बाढीपछि टेक्सास नेशनल गार्ड, हवाई उद्धार टोली र स्थानीय स्वयंसेवकहरूले संयुक्त रूपमा खोजी गरिरहेका छन् । दर्जनौँ हेलिकप्टर, डुंगा र डुब्दै गरेका सवारीसाधनको सहायतामा उद्धार कार्य चलाइएको छ । हालसम्म २३० भन्दा बढी मानिसहरूलाई सकुशल उद्धार गरिएको छ ।
उद्धारकर्मीहरू हिलो र भग्नावशेषबीच खोजी गरिरहँदा विषालु सर्पहरूको खतरासमेत सामना गरिरहेको बिबिसीले जनाएको छ ।
त्यो क्षेत्रमा आगामी चौबीसदेखि ४८ घन्टाभित्र भीषण वर्षा हुने र बाढी आउने पूर्वसूचना पनि जारी गरिएको छ ।
