सन्तोष रूचाल, धनकुटा । किराँती समुदायको दोस्रो महत्वपूर्ण चाड उँभौली साकेला केलाङ सांस्कृतिक उत्सव पर्व विभिन्न कार्यक्रमका साथ धुमधाम मनाएका छन् ।
धनकुटाको विभिन्न स्थानहरूमा किराँती समुदायले सास्कृतिक कार्यक्रमका साथ उँभौली साकेला केलाङ सांस्कृतिक पर्व मनाएका हुन् । साँगुरीगढी गाउँपालिका–१ लाबरबोटमा निर्माण गरिएको साकेला केलाङ पार्क र सहिदभूमि गाउँपालिका–१ गोपालपुरमा विभिन्न कार्यक्रमका साथ साकेला केलाङ नृत्य प्रतियोगिताको आयोजना गरिएको छ ।
उक्त प्रतियोगितामा धनकुटा र सुनसरी जिल्लाबाट सांस्कृतिको झाँकी सहित नृत्य प्रतियोगितामा सहभागी भएका थिए । उँभौलीमा अन्नबाली भित्र्याउनु अगाडि कुनै रोग व्याधी नलागोस् भनेर प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ । किराँतीहरूको धार्मिक पुस्तक मुन्धुमका अनुसार एक वर्षको समयलाई उँधौली र उँभौली गरी दुई भागमा वर्गिकरण गरिएको छ ।
बैशाख पूर्णिमादेखि एक महिनासम्म उँभौली पर्व मनाउने चलन रहेको किराँती अगुवा एवम् लेउती जलाधार प्राकृतिक, सांस्कृतिक प्रवर्द्धन समितिका अध्यक्ष बलबहादुर राईले बताउनुभयो । मौलिक भेषभुषामा सजिएका किराँतीहरूले आफ्नो कला संस्कृति झल्किने खालका साकेला तथा चण्डी नाच प्रस्तुत गरेका थिए ।
