काठमाडौं । नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाकाे शालिकमा इजरायली राजदूत श्मुलिक एरी बासले सुन्दरीजल संग्रहालयमा हिजो श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेपछि २२ नोभेम्बर २०२४ मा राजदूत बासले ६४ वर्षअघि सन् १९६० जुन १ मा स्थापित नेपाल र इजरायलबीचको दिगो मित्रतालाई सम्मान गर्न पहिलो पटक सार्वजनिक भ्रमण गर्नुभएको थियो ।
सोमबारको भ्रमणका क्रममा राजदूत बासले बीपीको दूरदर्शी नेतृत्वलाई झल्काउनुभयो । इजरायलको स्थापनाकालमा नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना गर्न कोइरालाको महत्वपूर्ण भूमिका थियो ।
यो मित्रता सधैंभरि रहिरहोस भन्ने सुनिश्चित गर्न मेरो टोली र म काम गर्नेछौं,” राजदूत बासले भन्नुभयो ।
सो अवसरमा राजदूत बासलाई स्वागत गर्दै बीपी सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेलले भन्नुभयो, “यो भ्रमणले नेपाल र इजरायलबीचको दीर्घकालीन सम्बन्धलाई थप प्रगाढ बनाउनेमा हामी विश्वस्त छौं । उल्लेखनीय छ कि यो संग्रहालय कुनै समय जेल थियो जहाँ बीपी कोइराला नौ वर्ष जेल बसेका थिए ।
कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र इजरायलबीच गहिरो मित्रता रहेको छ, जुन धेरै उच्चस्तरीय भ्रमण र कृषि, शिक्षा, स्वास्थ्यलगायतका विभिन्न क्षेत्रमा पारस्परिक लाभकारी सहयोगका कार्यक्रमहरूबाट देखाइएको छ ।
