सन्तोष रुचाल, धनकुटा । धनकुटाको सिधुवा बजारमा सिंधुवा छथर जोरपाटी सामुदायिक पुस्ताकलय तथा स्रोत केन्द्र सञ्चालनमा आएको छ ।
धनकुटाको छथरजोरपाटी गाउँपालिका–६ स्थित सिंधुवा बजारमा निर्माण भएको पुस्तकालय जापानका राजदूतावास मिसन उप–प्रमुख ताकाहिरो तामुरा र छथरजोरपाटी गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले संयुक्त रुपमा उद्घाटन गर्नुभएकाे छ ।
पुस्तकालय जापान सरकार र गाउँपालिकाको साझेदारीमा निर्माण कार्य सम्पन्न भएको हो । जापान सरकारको तीन बर्षे आयोजना अन्तरगत नेपाल स्थित एसभिए र रिड नेपालको समन्वय तथा प्राबिधिक सहयोगमा निर्माण सम्पन्न भएको जनाइएको छ ।
जापान सरकारको एक करोड ६२ लाख, छथरजोरपाटी गाउँपालिकाको ५० लाख र स्थानीयबासीहको ३० हजार गरी कुल दुई करोड १२ लाख ३० हजारमा आयोजना सम्पन्न भएको हो । अवसरको खोजी गर्न नयाँ शैलीको पुस्तकालयमा बच्चादेखि जेष्ठ नागरिकहरु ज्ञानसँगै जीवन उपयोगी सीप लगायतको रहेको छ । समुदायको मागमा आधारित भएर पुस्तकलाय निर्माण गरिएको र नागरिकको बौैद्धिक विकासलाई बुझेर अगाडी बढ्न पुस्तकालय निर्माण गरिएको छथरजोरपाटी गाँउपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले बताउनुभयाे ।

दुई कार्यक्रम हल सहित बनेको उक्त ९ कोठे भवनमा बालबालिका कक्ष, युवा अतिरिक्त, महिला, बहुप्राबिधिक, आईसिटी, पुस्तकालय, र जोखिम न्यूनिकरण कक्ष साथै अंपागता मैत्री कक्ष समेत रहेका छन् । पुस्ताकलयमा तीन हजार भन्दा बढी पुस्तकहरु रहेका छन् । आगामी दिनमा स्थानीय स्तरमा रहेका बौद्धिक, साँस्कृतिक तथा सामाजिक क्षेत्रमा रहेको बिभिन्न बिषयमा पुस्तकहरु प्रकाशन गर्दै जाने लक्ष राखिएको छ ।
यस पुस्ताकलयलाई दिगो रुपमा निरन्तर सञ्चालनका लागि यहाँबाट कृषि प्राबिधिक तालिम, मेकानिकल तालिम, होमस्टे, तरकारी प्रशोधन र कम्प्युटर लगाएतका बिभिन्न जीवन उपयोगी तालिमहरु समेत निःशुल्क दिईने अध्यक्ष सुब्बाले बताउनुभयाे ।
