सप्तरीमा २०१ जनामा एचआईभी सङ्क्रमण पुष्टि, बालबालिकासमेत प्रभावित

सप्तरी । सप्तरीमा एचआईभी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको पाइएको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार जिल्लामा हाल २०१ जना एचआईभी सङ्क्रमित उपचारको सम्पर्कमा रहेका छन् ।

अस्पतालमा नियमित उपचार गराइरहेकामध्ये १०६ पुरुष, ८४ महिला र १० बालबालिका रहेका छन् । उनीहरूले अस्पताल परिसरमा सञ्चालित राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रबाट नियमित औषधि तथा उपचार सेवा लिइरहेको वरिष्ठ स्टाफ नर्स सुनिता यादवले जानकारी दिनुभयाे ।

यादवका अनुसार उपचारको सम्पर्कमा आउनेमध्ये अधिकांश २० देखि ५० वर्ष उमेर समूहका छन् । पछिल्ला वर्षहरूको तथ्याङ्कले पनि जिल्लामा एचआईभी सङ्क्रमितको सङ्ख्या क्रमशः बढिरहेको देखाएको छ ।

अस्पतालको अभिलेखअनुसार विसं २०८१ मा १८९ जना र २०८२ मा १९५ जना एचआईभी सङ्क्रमित उपचारमा थिए । पछिल्लो तीन वर्षयता प्रत्येक वर्ष सङ्क्रमितको सङ्ख्या बढ्दै गएको केन्द्रले जनाएको छ ।

यद्यपि अस्पतालको सम्पर्कमा नआएका सङ्क्रमितसमेत हुन सक्ने भएकाले वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने यादवको अनुमान छ ।
एचआईभी सङ्क्रमित नियमित उपचारका लागि अस्पताल आउन नसके उनीहरूको घरमै पुगेर औषधि उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ । अस्पतालले विसं २०५२ सालदेखि नै एचआईभी सङ्क्रमितको उपचार सेवा सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *