विश्वकप छनोट प्लेअफका लागि सन्दिपको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो ।

डिसेम्बर ४ देखि २१ तारिखसम्म नेपालमा आयोजना हुने प्रतियोगिताका लागि घोषित टोलीमा अनुभवी र युवा खेलाडीलाई समेटिएको छ ।

टोलीमा कप्तान सन्दीप लामिछानेसँगै आसिफ शेख, अर्जुन कुमाल, ईशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, राशिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिशेष गौतम छन् ।

प्रतियोगितामा नेपालसहित नामिबिया, क्यानडा, यूएई, इटाली, युगान्डा, जर्सी र कुवेत गरी आठ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र माथिल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन् ।

राउन्ड रोबिन प्रणालीमा हुने प्रतियोगितामा प्रत्येक टोलीले अन्य सात टोलीसँग प्रतिस्पर्धा गर्नेछ । लिग चरणको समाप्तिपछि शीर्ष चार स्थानमा रहने टोलीले सन् २०२७ मा आयोजना हुने विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन् ।

नेपालले डिसेम्बर ४ मा इटालीसँग खेल्दै प्रतियोगिताको सुरूआत गर्नेछ । त्यसपछि डिसेम्बर ६ मा युगान्डा, १० मा यूएई, १२ मा जर्सी, १४ मा क्यानडा, १८ मा नामिबिया र अन्तिम खेलमा डिसेम्बर २१ मा कुवेतसँग भिड्नेछ ।

घरेलु मैदानमा हुने प्रतियोगिता नेपालका लागि विश्वकप यात्राको अर्को महत्वपूर्ण अवसर हुनेछ । शीर्ष चारमा स्थान बनाउँदै ग्लोबल क्वालिफायर पुग्नु नेपाली टोलीको मुख्य लक्ष्य रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *