काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा रकम असुलेको अभियोगमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई आज शुक्रबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको छ ।
बिहीबार पक्राउ परेका अर्याललाई थप अनुसन्धानका लागि हिरासतमै राख्न प्रहरीले अदालतबाट अनुमति लिन लागेको हो ।
अर्याललाई बिहीबार भारतको नयाँ दिल्लीबाट पक्राउ गरिएको थियो । त्यसपछि उनलाई हवाईमार्ग हुँदै भारतको सिलगुढीस्थित बागडोगरा विमानस्थल ल्याइएको र त्यहाँबाट पूर्वी नाका हुँदै विराटनगर पुर्याइएको थियो ।
विराटनगर विमानस्थलबाट जहाजमार्फत बिहीबार अपराह्न उनलाई काठमाडौं ल्याइएको बताइएको छ ।
यता, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भने अर्याललाई मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको दाबी गरेको छ ।
मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको आर्थिक ठगी प्रकरणमा अनुसन्धानको दायरामा तानिएका अर्याललाई अदालतबाट म्याद थप भएपछि थप अनुसन्धान प्रक्रिया अघि बढाइनेछ ।
