काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै यस वर्षको छठ पर्व आज सोमबार बिहान सम्पन्न भएको छ। तराई–मधेशसहित देशका विभिन्न स्थानमा व्रतालुहरूले बिहानै नदी, तलाउ तथा जलाशयका घाटमा पुगेर सूर्यदेवको पूजा आराधना गर्दै अर्घ्य अर्पण गरेका हुन् ।
महोत्तरीसहित मिथिलाञ्चलका विभिन्न क्षेत्रमा सूर्योदयसँगै व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चारदिने छठ पर्व विधिपूर्वक सम्पन्न भएको हो ।
यसअघि आइतबार साँझ षष्ठी तिथिका दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गरेका थिए । त्यसपछि रातभर जाग्राम बसेका उनीहरूले सोमबार बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएका हुन् ।
कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म चार दिन मनाइने छठ पर्वको सुरुवात ‘नहाय–खाय’ विधिबाट हुन्छ । पञ्चमीका दिन ‘खरना’ विधि सम्पन्न गरेपछि व्रतालुहरू निराहार व्रतमा बस्ने परम्परा छ ।
छठको मुख्य विधिअन्तर्गत षष्ठीको साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परालाई ‘सझियाघाट’ वा ‘सझुका अरख’ भनिन्छ भने सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।
पर्व सम्पन्न भएपछि व्रतालुहरू घर फर्किएर दीनदुःखी तथा आशामुखीहरूलाई अन्न, वस्त्र दान गर्ने र प्रसाद ग्रहण गर्ने गर्छन् । छठको प्रसादका रूपमा ठकुवा, भुसुवा, केरा, अन्य फलफूल तथा दही चढाउने चलन छ ।
मिथिलाञ्चलमा छठको प्रसाद आफन्त तथा इष्टमित्रलाई बाँड्ने परम्परा निकै पुरानो छ । विशेषगरी छोरीचेली, फुपू, मित तथा आफन्तका घरमा सोलीमा सजाएर प्रसाद पठाउने चलन छ । प्रसाद बाँड्ने र ग्रहण गर्ने क्रम महिनौँसम्म चल्ने गर्छ ।
सूर्यदेव र छठी माताको उपासनाले सुख, शान्ति, समृद्धि प्राप्त हुनुका साथै रोगव्याधबाट मुक्ति मिल्ने धार्मिक विश्वासका साथ यो पर्व मनाइन्छ ।
