एनपीएल प्लेअफ समीकरण पूरा, चार टोलीको टुङ्गो लाग्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ । शनिबार लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेटले हराएसँगै चितवन राइनोजले पनि प्लेअफमा स्थान पक्का गरेको हो ।

लुम्बिनीले विराटनगरले दिएको १६७ रनको लक्ष्य ६ विकेट गुमाएर पूरा गर्‍यो । रुबेन ट्रम्पलम्यानले दोस्रो अन्तिम बलमा छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए ।

प्लेअफमा पुग्ने टोलीमा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोज रहेका छन् । विराटनगर भने ७ खेलबाट ६ अंक जोड्दै लिग चरणबाटै बाहिरिएको छ ।

अंकतालिकामा ११ अंकसहित लुम्बिनी शीर्ष स्थानमा छ । सुदूरपश्चिम १० अंकसहित दोस्रो र काठमाडौं ८ अंकसहित तेस्रो स्थानमा छन् । ७ अंक जोडेको चितवन चौथो स्थानमा छ ।

आइतबार काठमाडौंले पोखरा एभेन्जर्स र चितवनले कर्णाली याक्ससँग खेल्नेछन् । काठमाडौंले जितेमा सुदूरपश्चिमलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिनेछ र पहिलो क्वालिफायर खेल्नेछ ।

सुदूरपश्चिम लगातार तीनवटै संस्करणमा प्लेअफ पुग्ने एक्लो टोली बनेको छ भने चितवन दोस्रो पटक प्लेअफमा पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *