काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएपछि दानबहादुर कार्की न्यायिक लडाइँमा उत्रिनुभएको छ । आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको जिकिर गर्दै उहाँले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ ।
कार्कीले बिहीबार सर्वोच्च अदालतमा रिट पेस गर्नुभएको थियो । उक्त रिट दर्ता भए पनि अहिलेसम्म सुनुवाइका लागि पेसी तोकिएको छैन ।
आफूलाई पदबाट हटाउनुअघि स्पष्टीकरण सोध्ने वा आफ्नो कुरा राख्ने अवसरसमेत नदिइएको कार्कीको जिकिर छ । कुनै ठोस आधार र कानुनी कारणबिना प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाइएको भन्दै उहाँले आईजीपी पदमा पुनर्बहालीको माग गर्नुभएको छ ।
गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको थियो ।
सरकारको उक्त निर्णयसँगै डा. मनोजकुमार केसीले बुधबारदेखि नेपाल प्रहरीको नयाँ महानिरीक्षकका रूपमा जिम्मेवारी सम्हालिसक्नुभएको छ । अब सर्वोच्च अदालतबाट रिटमाथि हुने सुनुवाइ र त्यसबाट आउने आदेशले प्रहरी नेतृत्व परिवर्तनसम्बन्धी विवादको आगामी दिशा तय गर्नेछ ।
