चितवन । चितवनको भरतपुरमा बाघको आक्रमणमा परी बेपत्ता भएका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । भरतपुर महानगरपालिका–२७ निवासी ४६ वर्षीय भीम महतोको शव चितवन राष्ट्रिय निकुञ्जभित्र फेला परेको हो ।
महतो हिजो दिउँसो अन्य तीन साथीसँग राधाकृष्ण सामुदायिक वनको बेथरी खोलानजिक निउरो टिप्न जानुभएको थियो । सोही क्रममा बाघले आक्रमण गरी उहाँलाई जंगलतर्फ लगेको थियो ।
घटनापछि उहाँसँगै गएका साथीहरूले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, वन कर्मचारी र स्थानीयवासीसहितको टोलीले खोजी अभियान सुरू गरेको थियो ।
खोजीका क्रममा आज बिहान निकुञ्जभित्र महतोको शव फेला परेको प्रहरीले जनाएको छ ।
शव भेटिएको स्थान आसपासमै बाघसमेत देखिएपछि डार्ट हानेर नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
