बागलुङ । बाढीले अवरूद्ध गलकोट–ताराखोला सडक दुई सातामा सञ्चालनमा आएको छ । गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सडक यही ११ असोजदेखि अवरूद्ध भएको थियो ।
गलकोट र ताराखोलाको सिमाना गाईघाट झरना नजिक सडकको ट्रयाक बगाएपछि अवरूद्ध बनेको सडकमा अस्थायी रूपमा यातायात सञ्चालनमा आएको ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर विकले बताउनुभयाे ।
दरमखोलामा आएको बाढीले गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सडकको विभिन्न भागमा क्षति पुर्याएको थियो । बाढीले सडकको ट्रयाक बगाएपछि गलकोट र ताराखोलाबीचको यातायात सम्पर्कविच्छेद भएको थियो ।
सडक अवरूद्ध हुँदा स्थानीयवासीलाई आवतजावत गर्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको थियो ।
सडक सञ्चालनमा आएसँगै गलकोट र ताराखोलाबीच आवतजावत गर्ने स्थानीयवासी, यात्रु तथा सवारीसाधनलाई सहज भएको छ ।
