काठमाडौं । रुम्जाटार गुरुङ सेवा समाज, काठमाडौंको ८औँ वार्षिक साधारण सभा तथा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
समाजको निमन्त्रणामा प्रमुख अतिथिका रूपमा रहेका नेपाली कम्युनिस्ट पार्टी ओखलढुंगाका ईन्चार्ज अम्बिरबाबु गुरुङले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै ईन्चार्ज गुरुङले आफ्नो थातथलो, मौलिक संस्कृति, पहिचान र सामाजिक एकतालाई जोगाउँदै अघि बढ्नुपर्ने बताए । काठमाडौंमा रहेर पनि रुम्जाटारको संस्कृति र आत्मीयतालाई जीवित राख्न समाजले खेलेको भूमिकाको उनले प्रशंसा गरे ।
समाजका अध्यक्ष रामप्रसाद गुरुङको नेतृत्वमा सम्पन्न कार्यक्रममा आमाहरू, दिदीबहिनी तथा दाजुभाइहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा अम्बिर बाबु गुरुङलाई विशेष सम्मानसमेत गरिएको थियो ।
साधारण सभा सफलतापूर्वक सम्पन्न गरेकोमा सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै आयोजकले विजया दशमीको अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेको छ ।
