उपभोक्ता ग्यासविहीन, होटल रेडिसनमा १८४ सिलिन्डरको थुप्रो

काठमाडौं । बजारमा ग्यासको अभाव देखिएको गुनासो बढिरहेका बेला वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित होटल रेडिसनमा अनुगमन गर्दा ठूलो परिमाणमा ग्यास सिलिन्डर मौज्दात राखिएको फेला पारेको छ ।

विभागका अनुसार होटलमा मात्रै १८४ वटा ग्यास सिलिन्डर भेटिएका छन् । अनुगमनका क्रममा नेपाल ग्यासका ११७ वटा भरिएका सिलिन्डर र एसटीसी ग्यासका ६७ वटा सिलिन्डर फेला परेका हुन् ।

त्यस्तै, होटलका विभिन्न चुलोमा करिब ७० वटा ग्यास सिलिन्डर प्रयोग भइरहेको पाइएको विभागले जनाएको छ ।

बजारमा पर्याप्त मात्रामा ग्यास आपूर्ति भइरहे पनि उपभोक्ताले ग्यास नपाएको गुनासो बढेपछि विभागले होटल तथा विभिन्न व्यावसायिक प्रतिष्ठानमा निगरानी तथा अनुगमन तीव्र बनाएको थियो । सोही क्रममा गरिएको अनुगमनका क्रममा रेडिसन होटलमा ठूलो संख्यामा ग्यास सिलिन्डर मौज्दात रहेको फेला परेको हो ।

उपभोक्ताले ग्यास अभाव झेलिरहेका बेला होटलमा ठूलो परिमाणमा ग्यास भण्डारण गरिएको भेटिएपछि सम्बन्धित होटलमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको उद्योग मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *