काठमाडाैं । प्रहरीको घुमुवा हुँ भन्दै नक्कली पेस्तोल देखाएर रकम असुल्न खोज्ने एक जनालाई रूपन्देही प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले रूपन्देहीकै सिद्धार्थनगर नगरपालिका वडा नं. १३ का ४९ वर्षीय राकेश प्रताप राणालाई पक्राउ गरेको हो ।
रूपन्देहीकै ओमसतिया गाउँपालिका वडा नं. ४ स्थित बालापुरमा कोठा भाडामा लिएर बस्दै आएका राणाले नक्कली पेस्तोल देखाउँदै आफू प्रहरीको घुमुवा भएको भन्दै भैरहवामा रकम मागिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार राणाले सिद्धार्थनगर नगरपालिका वडा नं. १३ शान्तिनगरमा स्थानीयसँग १० हजार रुपैयाँ मागिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ पछि राणाको कोठा खानतलासी गर्दा नक्कली पेस्तोल र ५ सय ग्राम गाँजा समेत बरामद भएको प्रहरी नायव उपरीक्षक चन्दले बताउनुभयाे । पक्राउ परेका राणालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान सुरू गरिएको चन्दले बताउनुभयाे ।
