स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा

रसुवा । भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरूद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्ने काठेपुल सञ्चालनमा आएका छन् ।

स्थानीयवासीको आवतजावतलाई सहज बनाउन निर्माण गरिएको अस्थायी काठेपुल बिहीबारदेखि सञ्चालनमा आएको हो ।

गोसाइँकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष मिङमार छिरिङ तामाङका अनुसार बाढीले सडक अवरूद्ध पारेपछि वडा कार्यालय र स्थानीयवासीको संयुक्त अगुवाइ तथा व्यवस्थापनमा लगातार तीन दिन लगाएर सो पुल निर्माण गरिएको हो ।

काठे पुल सञ्चालनमा आएसँगै गोसाइँकुण्ड गाउँपालिका–३ को खाम्जिङ, वडा नं २ को टिमुरे र वडा नं ४ को लाड्टाङ आवतजावत गर्ने स्थानीयवासीलाई सहज भएको वडाध्यक्ष तामाङले जानकारी दिनुभयाे ।

वडा कार्यालय र स्थानीय युवाको पहलमा पुल निर्माण गरिएको हो ।

पुलका लागि आवश्यक काठ स्थानीयस्तरमा नै संकलन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *