विर्तामोड । झापाको भद्रपुरमा सम्पन्न चन्द्रगढी महिला गोल्डकपको उपाधि सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले जितेको छ।
सोमबार खेलिएको फाइनलमा एपिएफले त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० ले पराजित गर्यो ।
७२औँ मिनेटमा रश्मिकुमारी घिसिङले कप्तान अनिता बस्नेतको पासलाई हेडमार्फत गोलमा परिणत गर्दै विजयी गोल गरिन्। उपाधिसँगै एपिएफले ११ लाख र उपविजेता आर्मीले ५ लाख रुपियाँ पुरस्कार पाए ।
प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी एपिएफकी रेनुका नगरकोटी बनिन् भने उच्च गोलकर्ता रश्मिकुमारी घिसिङ र उत्कृष्ट गोलकिपर अञ्जना रानामगर पनि एपिएफकै खेलाडी रहे ।
वैशाख ५ गतेदेखि सुरु भएको यस प्रतियोगितामा नेपाल, भारत र भुटानका १० क्लबले सहभागिता जनाएका थिए ।
