इन्जिनियरदेखि मन्त्रीसम्म: को हुन् नयाँ उद्योगमन्त्री दीपककुमार साह?

-प्रदीप खड्का

काठमाडौं — इन्जिनियरिङ क्षेत्रमा लामो समय काम गरेर राजनीतिमा आएका दीपककुमार साह अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा पुगेका छन्। निवर्तमान मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि सोही दिन प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई उद्योगमन्त्री नियुक्त गरेका हुन । यस कठिन परिश्थितिमा उनले कसरी आफ्नो कार्यक्षमता प्रदर्शन गरेर निरास बन्दै गएका आम नेपाली जनतामा खुसी भर्नेछन भन्ने चासो बढेको छ।

सुनसरी–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित साहका लागि उद्योग मन्त्रालयको जिम्मेवारी राजनीतिक यात्राको महत्वपूर्ण मोडका रूपमा समेत हेरिएको छ। प्राविधिक पृष्ठभूमिका साहले यसअघि लामो समय जलविद्युत् क्षेत्रमा काम गरेका थिए। उद्योग, ऊर्जा, पूर्वाधार र प्राकृतिक स्रोतसँग जोडिएको उनको पेशागत अनुभव अहिले उनले सम्हालेको मन्त्रालयका लागि पनि महत्वपूर्ण आधार बन्न सक्ने देखिन्छ।

मन्त्री साहले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सन् १९९९ मा मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका हुन्। त्यसपछि उनले प्राकृतिक स्रोत विकासमा स्नातकोत्तर गरेका छन्। प्राविधिक शिक्षासँगै उनले व्यावसायिक जीवनको लामो समय जलविद्युत् क्षेत्रमा बिताए। सार्वजनिक विवरणअनुसार उनले करिब २३ वर्ष ऊर्जा तथा जलविद्युत् क्षेत्रमा काम पनि गरेका छन्।

जलविद्युत् क्षेत्रमा काम गर्दा आयोजना सञ्चालन, प्राविधिक व्यवस्थापन र परियोजनासँग सम्बन्धित विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभव उनको पेशागत यात्राको महत्वपूर्ण पक्ष हो। यही अनुभवका कारण साह राजनीतिमा आएपछि पनि विकास, पूर्वाधार, ऊर्जा र प्राकृतिक स्रोतको उपयोगसँग सम्बन्धित विषयमा उनको चासो देखिँदै आएको छ।

इन्जिनियरका रूपमा लामो समय काम गरेपछि मन्त्री साहले सक्रिय राजनीतिमा प्रवेश गरेका थिए। उनको राजनीतिक यात्रा सिके राउत अध्यक्ष रहेको जनमत पार्टीबाट सुरु भयो भने उनी उक्त पार्टीको उपाध्यक्षसम्म बने। तर पार्टीभित्रको आन्तरिक विवादले चरम उत्कर्समा पुगेपछि उनको राजनीतिक बाटो परिवर्तन भयो।

जनमतबाट अलग भएपछि साहले आफ्नै राजनीतिक संरचना निर्माणको समेत प्रयास गरे। उनको नेतृत्वमा जनस्वराज पार्टी गठन भयो। त्यसपछि राजनीतिक तथा कानुनी प्रक्रियासँगै सर्वोदय पार्टी गठन भयो र साह त्यसको अध्यक्ष पनि बने। यसरी छोटो समयमै विभिन्न राजनीतिक उत्तरचढाप पार गरेका साह अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका थिए ।

रास्वपाबाट उनले सुनसरी–४ बाट फागुन २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागी निर्वाचन लडे। निर्वाचनमा ४२ हजार ७७१ मत प्राप्त गर्दै साह निर्वाचित भए। उनले अर्थमन्त्री बनिसकेका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई ठूलो मतान्तरले पराजित गरेका थिए।

साहको राजनीतिक यात्रामा उनको प्राविधिक पृष्ठभूमि पनि चर्चामा रहने गरेको छ । राजनीतिमा सक्रिय हुनुअघि इन्जिनियरका रूपमा काम गरेको र जलविद्युत् क्षेत्रमा लामो अनुभव हासिल गरेको व्यक्तिले अहिले उद्योग मन्त्रालयको नेतृत्व सम्हाल्नुले पनि उनको कार्यक्षमता प्रति चासो बढेको छ ।

उद्योग मन्त्रालय आफैँमा देशको उत्पादन, उद्योग, व्यापार र आपूर्ति व्यवस्थासँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण मन्त्रालय हो । अहिले मन्त्रालयको नेतृत्व सम्हाल्दा साहसामु थुप्रै चुनौती छन् । बजारमा देखिने आपूर्ति समस्या, एलपी ग्यासको सहज उपलब्धता, कालोबजारी नियन्त्रण, स्वदेशी उत्पादनको प्रवर्द्धन, औद्योगिक वातावरण सुधार र निजी क्षेत्रको विश्वास कायम गर्नु उनका प्राथमिक काम बन्न सक्छन् ।

त्यसैगरी नयाँ उद्योग स्थापना, लगानी आकर्षित गर्ने वातावरण निर्माण, रोजगारी सिर्जना, उत्पादन बढाउने र आयातमा निर्भरता घटाउने विषयमा पनि उनको भूमिका महत्वपूर्ण हुनेछ। प्राविधिक क्षेत्रमा लामो समय काम गरेको अनुभवलाई उनले नीतिगत तहमा कसरी प्रयोग गर्छन् भन्ने कुरा अब चासोको विषय बनेको छ ।

साहको बलियो पक्ष उनको प्राविधिक ज्ञान र लामो व्यावसायिक अनुभव हो। मेकानिकल इन्जिनियरिङको अध्ययनदेखि प्राकृतिक स्रोत विकासमा उच्च शिक्षा र जलविद्युत् क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभवले उनलाई उद्योग तथा पूर्वाधारसँग सम्बन्धित विषय बुझ्न आधार दिएको देखिन्छ ।

तर अब उनको मुख्य परीक्षा भनेको यही अनुभवलाई मन्त्रालयको कार्यसम्पादनमा रूपान्तरण गर्नु हो । उद्योगी–व्यवसायीको समस्या बुझ्ने, लगानीको वातावरण बनाउने, आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउने र उपभोक्ताले प्रत्यक्ष महसुस गर्ने गरी काम गर्न सके उनको प्राविधिक पृष्ठभूमि महत्वपूर्ण उपलब्धिमा बदलिन सक्छ ।

इन्जिनियरिङबाट सुरु भएको पेशागत यात्रा, जलविद्युत् क्षेत्रमा बिताएको लामो समय, त्यसपछि राजनीतिमा प्रवेश र विभिन्न राजनीतिक चरण पार गर्दै प्रतिनिधिसभा सदस्य तथा अहिले संघीय सरकारको उद्योगमन्त्रीसम्म पुगेको साहको चुनौतीपुर्ण राजनीतिक यात्रा छोटो समयमै तीव्र रूपमा अघि बढेको देखिन्छ ।

अब उद्योगमन्त्रीका रूपमा उनको कार्यकालले यो यात्राको अर्को अध्याय पक्कै निर्धारण गर्नेछ। प्राविधिक ज्ञान, व्यावसायिक अनुभव र राजनीतिक जिम्मेवारीलाई एउटै ठाउँमा प्रयोग गरेर उद्योग तथा आपूर्ति क्षेत्रमा देखिएका समस्या समाधान गर्न सके साहको राजनीतिक यात्राले सार्थकता पाउनेछ ।

इन्जिनियरदेखि मन्त्रीसम्म आइपुगेका साहका लागि अहिलेको जिम्मेवारी केवल राजनीतिक पद होइन, आफ्नो लामो प्राविधिक अनुभवलाई देशको औद्योगिक विकासमा प्रयोग गर्ने चुनौतीपूर्ण अवसर पनि हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *