फिफा विश्वकप २०२६: स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

काठमाडौं । जारी फिफा विश्वकप २०२६ अन्तर्गत स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ गोलले हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

कान्सास सिटी स्टेडियममा आइतबार भएको क्वार्टरफाइनलको निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा अर्जेन्टिनाले दुई गोल गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो ।

खेलको १० औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले लियोनल मेस्सीको पासमा गोल गर्दै अर्जेन्टिनालाई सुरूआती अग्रता दिलाएका थिए । पहिलो हाफमा अर्जेन्टिना १–० ले अघि रह्यो ।

तर, ६७ औँ मिनेटमा डान एनडोयेले रिकार्डो रोड्रिगेजको पास सदुपयोग गर्दै स्विट्जरल्यान्डलाई १–१ को बराबरीमा फर्काए । त्यसको पाँच मिनेटपछि ब्रिल एम्बोलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भएको थियो ।

निर्धारित समय बराबरीमा सकिएपछि अतिरिक्त समयको ११२ औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए ।

उनले जोसे लोपेजको पासलाई गोलमा परिणत गरेका थिए । अतिरिक्त समयको इन्जुरी समयमा लाउटारो मार्टिनेजले थप गोल गर्दै अर्जेन्टिनाको ३–१ को जित सुनिश्चित गरे ।

६९ हजार ४५ दर्शक उपस्थित खेलमा कठिन जित निकालेको अर्जेन्टिनाले अब फाइनल प्रवेशका लागि ईङ्ल्याण्डसँग खेल्नेछ ।

ईङ्ल्याण्डले आईतबार बिहान भएको खेलमा नर्वेलाई २ १ ले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । ईङ्ल्याण्डको जितमा जुड बेलिङघमले दुवै गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *