काठमाडाैं । इसाई धर्मावलम्बीहरूको महत्वपूर्ण दिन ईष्टर सण्डे तथा येशू ख्रीष्ट जीवित भएर उठ्नुभएको अवसरमा दशरथ रङ्गशालामा भव्यताका साथ महोत्सव सम्पन्न भएको छ ।
इसाईहरूले विश्वास गर्ने मुक्तिदाता येशू ख्रीष्टलाई यहूदीहरूका धर्मगुरूहरू र रोमी साम्राज्यले त्यस बेलाको कानुनअनुसार येशू ख्रीष्टले प्रचार गरेको धर्मशास्त्रीय शिक्षाको विरोधमा उहाँलाई क्रूसमा झुण्ड्याएर मारिएको थियो ।
येशूलाई क्रूसमा झुण्ड्याएर मारिएको शुक्रबार (२०८२/१२/२०) लाई गुड फ्राइडे भनिन्छ ।
येशूले सारा मानव समुदायको पापको साटोमा आफू बलि भएर उहाँलाई विश्वास गर्ने सबैको लागि उद्धार दिनुभएको कुरा इसाईहरूको धर्मशास्त्र बाइबलले बताँउछ ।
तर उहाँ तेस्रो दिनमा जीवित भई उठ्नुभएको दिनलाई ईष्टर सण्डे वा पुनरूत्थानको आइतबार भनेर मनाइन्छ ।
यसरी २०८२/ १२/ २२ गतेको दिन येशू ख्रीष्टले मृत्युलाई जितेर जीवित भई उठ्नुभएको ऐतिहासिक र धर्मशास्त्रीय सत्यलाई ध्यानमा राखी दशरथ रङ्गशालामा आज विहान करीब ८:३० देखि दिनभरी नै काठमाडौं, ललितपुर र भत्तपुरबाट जम्मा भएको कम्तिमा ३५००० जनाको उपस्थितिमा पुनरूत्थानको महोत्सव सम्पन्न गरेको छ ।
जसमा तिनै जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूबाट सुरक्षा व्यवस्था गरी कार्यक्रम अर्थपूर्ण बनाइदिएको र सबै प्रशासनिक निकायहरूले सहायता गरेकाले उहाँहरूप्रति आयोजक समितिले कृतज्ञ भएर धन्यवाद पनि दिएको छ ।


