प्रतिनिधिसभा सदस्य निर्वाचन: गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

काठमाडौं । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा विजय हासिल गर्न सकेनन् ।

गण्डकीबाट दुवै दलको प्रतिनिधित्व शून्य बनेको छ ।

विसं २०७९ को चुनावमा गण्डकीबाट एमालेले पाँच र नेकपाले दुई निर्वाचन क्षेत्रमा जितेको थियो । अघिल्लो चुनावमा १० क्षेत्रमा जितेको नेपाली कांग्रेस पनि यसपटक गण्डकीमा दुई सिटमा सीमित रह्यो ।

विसं २०७९ को चुनावमा बागलुङ–१ मा विजयी बनेको राष्ट्रिय जनमोर्चाका उम्मेदवारको यसपालि जमानत नै जफत भयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेशका कुल १८ निर्वाचन क्षेत्रमध्ये १५ निर्वाचन क्षेत्रमा विजयी बन्न सफल भयो ।

म्याग्दी, मुस्ताङ र मनाङ बाहेकका जिल्लामा रास्वपा उम्मेदवारले जित्नुभएको हो ।

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी हुनुभयो ।

मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन थकाली र मनाङमा पनि नेपाली कांग्रेसकै टेकबहादुर गुरुङले संसद्को यात्रा तय गर्नुभयो ।

रास्वपाले प्रदेश राजधानी रहेको कास्कीलगायत अधिकांश जिल्लामा जित निकालेको हो ।

रास्वपाबाट कास्की–१ खड्कराज पौडेल, कास्की–२ मा उत्तमप्रसाद पौडेल र कास्की–३ मा बिना गुरूङ विजयी बन्नुभयो ।

बागलुङका दुवै क्षेत्रमा पनि रास्वपाका उम्मेदवार विजयी भए। बागलुङ–१ मा सुशील खड्का र बागलुङ–२ मा सोम शर्मा बिजयी हुनुभयो ।

स्याङ्जाका दुवै क्षेत्रमा पनि रास्वपा उम्मेदवार विजयी बन्नुभयो । स्याङ्जा–१ बाट धनञ्जय रेग्मी र स्याङ्जा–२ बाट झविलाल डुम्रे ससंदमा पुग्नुभयो ।

तनहुँका दुवै क्षेत्रमा पनि रास्वपाका उम्मेदवारले जित्नुभयो । तनहुँ–१ मा स्वर्णिम वाग्ले र तनहुँ–२ मा श्रीराम न्यौपाने विजयी बन्नुभयो ।

यस्तै नवलपुर–१ मा रास्वपाकै राजन गौतम र नवलपुर–२ मा मनिष खनाल विजयी हुनुभयो । लमजुङमा रास्वपाका उम्मेदवार धर्मराज केसी विजयी हुनुभयो ।

पवर्तबाट रास्वपाकै सागर भुसालले ससंदीय यात्रा तय गर्नुभयो । गोरखाका दुवै क्षेत्रमा पनि रास्वपाले जित्नुभयो । गोरखा–१ मा सुधन गुरुङ र गोरखा–२ मा कविन्द्र बुर्लाकोटी विजयी बन्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *