झापामा सयपत्री फूलको माग बढ्यो

झापा । फूलहरूको पर्वका रूपमा रहेको नेपालीहरूको दोस्रो ठुलो चाड तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालको छ । तिहारमा लक्ष्मी पुज्न, घर सजाउन र दाजुभाइलाई लगाउनका साथै जिल्लामा हुने हरेक कार्यक्रममा अतिथिलाई सयपत्री फूलको माला लगाइदिने प्रचलन सुरू भएसँगै माग बढेको हो ।

बिर्तामोड नगरपालिका–७ का फूल किसान विवेक साहले तिहारका लागि दैनिक जसो माग गर्नेको सङ्ख्या बढिरहेको बताउनुभयो । उहाँले भिनाजु दीपक साहसँगको समन्वयमा दुई बिघा जमिन भाडामा लिएर फूलको व्यावसायिक खेती गर्दै आउनुभएको छ । सयपत्री फूलको ८० हजार बिरूवा रोपेका साहले हाल दैनिक ३०० माला बिक्री गर्दै आएको बताउनुभयो । उहाँले फूल टिप्ने र माला बनाउने काममा स्थानीयलाई रोजगारी प्रदान गरेका छ ।

“तिहारका लागि धमाधम माग आइरहेका छन्”, साहले भन्नुभयो, “गत हप्ता आएको अविरल वर्षाले करिब १० हजार माला हुने फूल नष्ट गर्‍यो । मागअनुसार पुर्‍याउन सक्छु कि सक्दिन चिन्ता थपिएको छ ।” उहाँको ढकमक्क फूलेको फूल टिप्न नपाउँदै पानीले नष्ट गरिदिएको थियो ।

उहाँले हाल दैनिक दुईदेखि ३०० माला बिक्रीका लागि बिर्तामोड, दमक र विराटनगरका व्यापारीलाई पढाउँदै आएको बताउनुभयो । उहाँको फूलबारीमा टिकटक बनाउने र भिडियो खिच्ने स्थानीयवासीको भीड लाग्ने गरेको छ ।

साहले प्रतिमाला रु ५० का दरले बिक्री गर्दै आएको जानकारी दिनुभयो । हालसम्मको मूल्य रु ५० भए तोकिए पनि तिहारमा अवस्था हरेर मूल्य कायम गरिने उहाँको भनाइ छ । “हेर्दै रहर लाग्ने गरी फूल फुलेको छ”, उहाँले भन्नुभयो, “बाढीले क्षति गरे पनि लगानी उठाउन सक्छु कि भन्ने आँट छ ।”

उहाँका अनुसार एक पटक लगाएको सयपत्री फूल तीन पटकसम्म टिप्न मिल्छ । उहाँले एकपटकको टिपाइबाट २० हजार बढी माला हुने बताउनुभयो । उहाँले तिहारमा एक लाख माला हुने फूल उत्पादन गरेर बिक्री गर्ने लक्ष्य राखेको भन्दै पानीका कारण लक्ष्य पूरा नहुनेमा चिन्ता व्यक्त गर्नुभयो ।

पहिलोपटक फूलखेती गर्नुभएका साहले भन्नुभयो, “फूल फलाउनु मात्र पर्दो रहेछ, ग्राहकको अभाव नहुने रहेछ । यसपटकबाट पाठ सिकेर आगामी दिनमा अझ व्यवस्थित गरेर थप खेती बढाउँछौँ ।”

यसैगरी, बिर्तामोड नगरपालिका–९ मा सुष्मा पौडेलले पनि सात कठ्ठा जमिनमा सयपत्री फूलको खेती गर्नुभएको छ । उहाँले केही फूल दसैँमा बिक्री गरिसकेको बताउनुभयो । उहाँको बारीमा ढकमक्क फूलको सयपत्रीमा पनि पानीका कारण क्षति पुगेको छ ।

“तिहारका लागि साचेर राखेको करिब रु दुई लाख ५० हजारको फूल पानीका कारण नष्ट भयो”, पौडेलले भन्नुभयो, “धेरै माग आएको थियो अब पुर्‍याउन सक्ने स्थिति छैन ।” उहाँले पछिल्लो समय हरेक कार्यक्रममा खादाको सट्टा सयपत्री फूलको मालाको प्रयोग बढेसँगै माग बढेको बताउनुभयो ।

उहाँले विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा फूलखेती गर्दै आउनुभएको छ । जिल्लाको बिर्तामोड, बाहुनडाँगी, गौरादहलगायत स्थानमा सयपत्री फूलको व्यावसायिक खेती हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *