धनकुटामा सब्जी बोकेको मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

सन्तोष रूचाल, धनकुटा । धनकुटामा सब्जी बोकेको मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
कोशी लोकमार्ग अन्तर्गत धरान धनकुटा सडकको धनकुटा नगरपालिका–९ स्थित पाँच गोलाईमा आज बिहान करिब २ बजेतिर धनकुटाबाट सब्जी बोकेर धरानतर्फ जाँदै गरेको प्र–३–०१–००३ क ६९०६ नम्वरको मिनी ट्रक दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी मिनी ट्रकका सहचालक उदयपुर रानिटारका १९ वर्षीय दिनेश क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी डिएसपी राजन कार्कीले बताउनुभयो ।
ट्रक दुर्घटनामा परी गम्भीर घाईते भएका सहचालक क्षेत्रीलाई प्रहरीले उद्दार गरी जिल्ला अस्पताल धनकुटा ल्याइएको थियो । उहाँको उपचारको क्रममा आज बिहान ५ बजे मृत्यु भएको थियो । दुर्घटनामा चालक उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका–९ कुर्कुनटारका २६ वर्षीय नारायण खड्का सामान्य घाइते भएका छन् । सब्जी बोकेर जाँदै गरेको सो ट्रक अनियन्त्रित भई सडकदेखि झण्डै ३ सय मीटर तल खसेको थियो ।
मृत्तक क्षेत्रीको शवलाई जिल्ला अस्पतालको शव गृहमा राखिएको छ भने चालक खड्कालाई प्रहरीको निगरानीमा जिल्ला अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनाको थप अनुसन्धान भई रहेको डिएसपी कार्कीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *