सन्तोष रूचाल, धनकुटा । चाडबाड नजिकिएसँगै धनकुटा बजार, सिधुवाबजार, हिलेबजार, पाख्रीवास बजार लगायतका क्षेत्रमा अनुगमन तिव्र बनाइएको छ ।
चाडबाडको मौका छोपेर व्यावसायीहरूले कैफियत गर्ने गुनासो बढ्ने गरेका कारण बजार अनुगमन हुने गरेको छ । उपभोक्ताहरूको गुनासोका आधारमा धनकुटाका बजार क्षेत्रका सञ्चालित किराना, होटल र मासु पसल गरी करिब ४१ वटा पसलहरू अनुगमन गरिएको छ ।
धनकुटा नगरपालिकाका उपप्रमुख भीमादेवी खनालको संयोजकत्वमा धनकुटा नगरपालिका वडा नं. ६, ७ र ९ मा पर्ने मुलघाटका पसलहरूको अनुगमन गरिएको हो । बजार अनुगमनका क्रममा विभिन्न अखाद्य वस्तु तथा पेय पदार्थ भेटिएको छ ।
म्याद गुज्रिएका पेय पदार्थमा स्प्राइट, ड्यु, कोक, फेन्टा र फ्रुटी लगायतका वस्तु भेटिएको छ ।
अखाद्य वस्तु बिस्कुट, चिप्स, बेकरीजन्य वस्तु, आँटा, प्याकेजिङ जन्य खाद्यान्न समेत भेटिएको छ । सोही अनुसार अखाद्य वस्तुमा उत्पादन र समापन म्याद नराखिएको भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षण अधिकारी सुशील कोइरालाले बताउनुभयो ।
अनुगमनको क्रममा होटलमा पुनः प्रयोग गरिएको १४ लिटर तोरीको तेल समेत भेटिएको थियो । २० वटा होटल, ३ वटा मिठाई पसल, खाद्य तथा किराना पसल १५ वटा र मासु पसल ३ वटा गरी ४१ वटा पसल रहेका छन् ।
कतिपय पसलमा मूल्यसूची नराखिएको र राख्न आग्रह गरिएको खाद्य निरीक्षक अधिकारी कोइरालाले बताउनुभयो । यस्तै अखाद्य वस्तु बेचबिखन नगर्न नगराउन र आगामी दिनमा गर्ने गरेको पाइएमा कारबाही हुने भनेर सचेत गराइएको छ ।
बजार अनुगमनमा जिल्ला प्रशान कार्यालय धनकुटाका बिमला प्रधान, धनकुटा नगरपालिकाका राजु गुरागाई, घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका तालिम अधिकृत बिकास कार्की, राष्ट्रिय उपभोक्ता मञ्च धनकुटा अध्यक्ष बिपिन श्रेष्ठ, नेपाल पत्रकार महासंघ धनकुटाका बिदुर खवास, उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङसहित कर कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका पदाधिकारीको सहभागीता रहेको थियो ।
यसैबीच छथरजोरपाटी गाउँपालिका–६ सिंधुवाबजारको पनि अनुगमन गरिएको छ । सिधुवाबजारको एक दर्जन बढी किराना पसल र खुद्रा पसलको अनुगमन गरिएको हो ।
अनुगमनको क्रममा पसलमा विक्रीका लागि राखिएका अखाद्य वस्तु तथा पेय पदार्थ जफत गरिएको छ भने कतिपय पसलहरूले मूल्यसुची समेत नराखेको पाइएकोले सचेत गराउनुको साथै आगामी दिनमा यस्ता गल्ती नगर्न चेतावनी पनि दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका खाद्य निरीक्षक अधिकारी सुशिल कोइरालाले बताउनुभयो ।
