धनकुटाका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना

सन्तोष रूचाल, धनकुटा ।  चाडपर्वको समयमा यात्रुको सहजताका लागि धनकुटाका चार स्थानमा आज यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

चाडबाडको समयमा यात्रुको अत्याधिक चाप हुने गरेकाले दशैं, तिहार र छैठ पर्वमा यात्रुहरूलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन सहयोग गर्ने उद्देश्यले धनकुटाको भेडेटार, धनकुटा बसपार्क, हिले बजार र पाख्रीवास बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटा र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाको सक्रियतामा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी शरदकुमार थापा क्षेत्रीले बताउनुभयो ।
यात्रु सहायता कक्षको एसपी थापा क्षेत्रीले उद्घाटन गर्नुभएको छ । यात्रु सहायता कक्षको उद्घाटन गर्दै एसपी थापा क्षेत्रीले चाडबाडको समयमा यात्रुहरूको चाँप बढी हुने भएकाले यात्रुहरूलाई सहज ढंगले गन्तव्य स्थलसम्म पुर्याउनको लागि यात्रु सहायता कक्षको स्थापना गरिएको बताउनुभयो ।
चाडबाडको समयमा कतिपय यात्रुहरूले सवारीसाधनहरूबाट ठगिएको गुनासो पनि गर्ने गरेकाले त्यसको न्यूनिकरण गर्न पनि यात्रु सहायता कक्ष स्थापनाले सहयोग पुग्नेछ । यसका साथै चाडबाडको समयमा बढी मात्रामा मादक पदार्थको प्रयोग हुने भएकाले त्यसको नियन्त्रण गर्दै यात्रुहरूलाई सहज ढंगले गन्तव्यसम्म पुर्याउनको लागि सहजीकरण गरिने डिएसपी रायले बताउनुभयो । उहाँले ट्राफिक नियमको सबैले पालना गर्न समेत आग्रह गर्नुभयो ।
यात्रु सहायता कक्षमा नेपाल प्रहरी र ट्राफिक प्रहरी रहने छन् । चाडपर्वको समयमा सवारी चालकहरूले यात्रुसँग बढी भाडा असुल्ने, जोखिमपूर्ण यात्रा गराउने जस्ता समस्या हुने गरेकाले त्यसको नियन्त्रण गरी यात्रुहरूलाई सहज ढंगले गन्तव्यमा जानको लागि सहजीकरण गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख मनोज कुमार खड्काले बताउनुभयो ।
यात्राको क्रममा कुनै पनि सवारी साधनबाट ठगिएमा तत्काल प्रहरीलाई खबर गर्न यात्रुहरूसँग उहाँले आग्रह पनि गर्नुभयो । धनकुटा हुदै पूर्वी पहाडी जिल्ला तेह्रथुम, भोजपुर, संखुवासभा दैनिक एक हजार भन्दा बढी ठूला साना सवारी साधनहरू संचालन हुने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *