काठमाडौं । राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना मागसहित भइरहेको आन्दोलनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नक्सालस्थित नारायणचौरमा भएको प्रदर्शनमा सहभागी भएका थापालाई भीडलाई उत्तेजित पार्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिनुभयो । “भीडलाई भड्काउन खोजेपछि उहाँलाई नियन्त्रणमा लिएका हौं,” उहाँले भन्नुभयो, “थापासहित अन्य केही व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएको छ ।”
नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन’ समितिले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गरिरहेको छ । उक्त आन्दोलनलाई राप्रपा, राप्रपा नेपाललगायत दलहरूको समर्थन छ ।
राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयता खारेजीलगायत माग राखेर सुवेदी नेतृत्वको समितिले ‘जनआन्दोलन’ गरिरहेको छ ।
राप्रपा नेपालका अध्यक्ष थापालाई प्रहरीले नियन्त्रणमा लिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशभरका साथीहरूलाई आन्दोलनमा बोलाउने बताउनुभयाे ।
‘देशभरबाट साथीहरूलाई बोलाउँछौं, भोलिबाट खास लडाइँ सुरू हुन्छ,’ उहाँले भन्रुभयाे, ‘अब हामी एक ठाउँबाट होइन ५० ठाउँबाट निस्कन्छौं । कमल थापालाई अहिले यहाँ ल्याएर स-सम्मान फिर्ता गर्नुपर्छ ।’
