काठमाडौं । सांसदले मनसुनअघि नै विपद् जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा जोड दिएका छन् । राष्ट्रिय सभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उनीहरूले मनसुनजन्य विपद्बाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरणमा जोड दिनुभयो ।
विपद् व्यवस्थापन (विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) सम्बन्धमा भएका काम कारबाही, विपद् जोखिम न्यूनीकरणको लागि तयारी तथा भावी कार्ययोजना सम्बन्धमा बैठक बसेको थियो ।
समितिका सभापति सोनाम गेल्जेन शेर्पाले विपद् व्यवस्थापनसम्बन्धी सरकारी नीति तथा योजनाको प्रभावकारी कार्यन्वयन हुनुपर्ने सुझाव दिनुभयो । विपद् व्यवस्थापन गर्न समन्वय बढाउनुपर्ने, सुरक्षाका सामग्रीको व्यवस्थापन, समयमा नै राहत व्यवस्थापन, छिटो र सहज रूपमा राहत र उद्धार गर्न स्थानीय तहलाई सक्रिय बनाउनुपर्ने तथा स्थानीय राहत कोषमा रकम पठाउँदा प्रभावकारी र छिटो हुने उहाँको भनाइ छ ।
सांसद जगप्रसाद शर्माले सूचना प्रविधिको सदुपयोग गर्दै विपद् जोखिम न्यूनीकरण गर्नुपर्ने सुझाव दिनुभयो । विपद्का जोखिम भएका बस्तीका मानिसलाई अन्यत्र व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड रहेको छ ।
यसैगरी सांसद इन्दिरादेवि गौतमले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको प्रभावकारी कार्यन्वयनमा जोड दिनुभयो । सांसद उदयबहादुर बोहोराले समयमा नै उद्धार र राहत उपलब्ध गराउने गरी तयारी थाल्नुपर्ने सुझाव दिनुभयो ।
राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले यस वर्ष औसतभन्दा बढी वर्षा हुने भन्दै विपद् प्रतिकार्य तथा पूर्वतयारीका लागि काम गर्नुपर्ने र तीनै तहका सरकारबीचको समन्वय बढाउनुपर्नेमा जोड दिनुभयो । ‘बुधबार जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको हावापानी आँकलनअनुसार यस मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ ।
कर्णाली प्रदेशको पूर्वीभू–भाग, लुम्बिनी प्रदेशको उत्तरी भू–भाग र गण्डकी प्रदेशको अधिकांश भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत देखिएको छ,’ उहाँले भन्नुभयो, ‘सुदुरपश्चिम प्रदेशको दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भू–भाग, बागमती र कोशी प्रदेशको उत्तरी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ । तसर्थ यस वर्षको मनसुनमा सतर्कता अपनाउन पूर्वतयारीका कार्यक्रमलाई जोड दिने छौँ ।’
कार्यकारी निर्देशक भट्टले आगामी मनसुनमा गत वर्षको भन्दा राम्रो पूर्वतयारी गर्ने र जोखिम न्यूनीकरणका प्रयास गरिने बताउनुभयो ।
सांसदहरू विष्णुकुमारी सापकोटा, राजेन्द्र लक्ष्मी गैरे, किरणबहादुर श्रेष्ठ, नारायणदत्त मिश्र, गोपीबहादुर सार्की आछामीले पनि विपद् जोखिम न्यूनीकरणका लागि समयमै पूर्वतयारी गर्नुपर्ने, विपद्पछिको उद्धार राहतमा जोड दिनुपर्ने, बस्ती स्थानान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।
