तीनकुने घटना: करिब ८० जनाविरूद्ध मुद्दा चलाउनुपर्ने प्रहरीकाे राय

काठमाडौं । प्रहरीले तीनकुने घटनाको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ । गएको चैत १५ मा राजावादीले तीनकुनेमा आयोजना गरेको प्रदर्शन अराजक बनेपछि जनधनको क्षति भएको थियो । प्रदशर्नका क्रममा पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको ज्यान गएको थियो । प्रदर्शनकारीले दर्जन निजी तथा सरकारी गाडी र घरमा आगजनी गरेका थिए । सोही घटनामा संलग्नमाथि प्रहरीले लामो अनुसन्धान गरेको थियो । भिडियो भुटेजमार्फत अराजक प्रदर्शन गर्नेलाई प्रहरीले धमाधम पक्राउ गरेर अनुसन्धान गरेको हो ।

यसरी पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रसहित सांसद धवलशमशेर राणासमेत हुनुहुन्थियाे । तर, राणा स्वास्थ्यको कारण र मिश्र सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरण निवेदनका आधारमा थुनामुक्त हुनुभएकाे छ । यसरी नै प्रदर्शनमा आपराधिक उपद्रव कसुर गर्नेलाई समेत प्रहरीले थुनाबाहिर राखेर अनुसन्धान गरेको थियो ।

घटनाको दुई सातापछि मात्रै पक्राउ परेका प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं थुनामै हुनुहुन्छ । राजसंस्थाको मागसहित प्रदर्शन गराउने संयोजक पूर्वपञ्ज नवराज सुवेदी हुनुहुन्छ । उहाँलाई प्रहरीले पक्राउ गरेन । तीनकुने घटनाबारे काठमाडौं प्रहरीलाई सहयोग गर्न प्रहरी प्रधान कार्यालयबाट वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कृष्ण पंगेनीसहित उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसपी प्रविण धितालसमेत खटिनुभएकाे थियाे । यसरी नै जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) नानीकाजी थापा र उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुर शाखाका इन्स्पेक्टर राजेश महर्जनसमेत अनुसन्धानमा संलग्न अधिकारी हुनुहुन्छ ।

आरोपितहरूको संख्या ठूलो र पक्राउ परेकाहरूको भूमिकाको आधारमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बनाउनुपर्ने भएपछि कुनै कमजोरी नहोस् भनेर काठमाडौं प्रहरी परिसरबाहेक प्रहरी अधिकारीसमेत समावेश गरेर अनुसन्धान गरिएको हो । अनुसन्धानमा कमजोरी हुन नदिन परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले परिसरकै एसपी कुलदीप चन्दलाई मुख्य फोकल व्यक्ति तोकेर अनुसन्धान गर्नुभएकाे थियाे । आजै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी जिल्ला प्रहरी परिसरका एक अधिकारीका अनुसार, तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन प्रहरीले मंगलबार साँझसम्म बुझाउने गरी काम गरिरहेको छ ।

प्रहरीले चैत १५ बाट नै घटनामा संलग्नलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । संलग्नमाथि प्रहरीले संगठित अपराध कसुरमा अनुसन्धान थालेको थियो । प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले अनुसन्धान र अभियोजन गर्न ६० दिनको अनुमति पाउने कानुनी व्यवस्था छ । प्रहरीले आरोपितलाई पक्राउ गरेर थुनामा राखेर अनुसन्धान गरेको मंगलबार ५३ दिन पुगेको छ ।

प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनलाई अभियोजन गर्न सरकारी वकिल कार्यालयलाई समेत समय चाहिने भएपछि प्रहरीले मंगलबार साँझसम्म अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको हो । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भन्रुभयाे, ‘‘हामीले सकेसम्म आजै अनुसन्धान प्रतिवेदन बुझाउने गरी काम गर्दै छौँ । गए रातिदेखि नै नसुती यही काममा लागेका छौँ, सकेसम्म आज नै बुझाउने तयारी छ ।’’ प्रहरी स्रोतका अनुसार, प्रहरीले घटनामा संलग्न दुर्गा प्रसाईं, सन्तोष राजावादीसहित केही आरोपितलाई राज्यविरूद्धको कसुर, संगठित अपराध, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र आपराधिक उपद्रवको कसुरमा मुद्दा चलाउनुपर्ने राय दिने तयारी गरेको छ । यस्तै, रवीन्द्र मिश्र, धवलशमशेर राणालाई राज्यविरूद्धको कसुर, संगठित अपराधमा र आपराधिक उपद्रव कसुरमा कारबाही गर्नुपर्ने राय दिँदै छ ।

यसरी नै पक्राउ परेका अधिकांश आरोपितविरूद्ध भने प्रहरीले आपराधिक उपद्रव कसुर मुद्दा चलाउनुपर्ने राय दिने तयारी गरेको छ । आपराधिक उपद्रव कसुरका अधिकांश आरोपित थुनाबाहिर राखेर प्रहरीले अनुसन्धान गरेको थियो । प्रहरीले प्रदर्शनमा अराजक गतिविधि गर्नेमाथि विभिन्न सीसीटीभी फुटेज तथा भिडियोमा देखिएका आधारमा अनुसन्धान गरेको थियो । प्रहरी स्रोतका अनुसार, सामान्य कसुरदेखि जघन्य अपराधसम्मका झन्डै ८० जनाविरूद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन पेस गर्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *