सन्तोष रूचाल, धनकुटा । सामुदायिक वन विकासको क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल धनकुटाले तीन वटा सामुदायिक वन उपभोक्ता समुहरूलाई सम्मान गरेको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल धनकुटाको चौथो जिल्ला परिषद्को अवसरमा तीन वटा सामुदायिक वन उपभोक्ता समुहलाई सम्मान गरेको हो । सम्मानित हुनेहरूमा धनकुटा नगरपालिका–१ मा रहेको सुकेपोखरी सामुदायिक वन उपभोक्ता समूह, धनकुटा नगरपालिका–९ स्थित बेलहारामा रहेको जलकन्या सामुदायिक वन उपभोक्ता समुह र चौबिसे गाउँपालिका–३ र ४ मा रहेको भोटेपौवा चिसापानी सामुदायिक वन उपभोक्ता समुह कुरूले तेनुपा रहेका छन् ।
सम्मानित हुने वन उपभोक्ता समुहका अध्यक्षहरूलाई कोशी प्रदेशका सांसद इन्द्रमणि पराजुली र सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष निलबहादुर थापाले खाँदा र सम्मान–पत्रद्धारा सयुक्त रूपमा सम्मान गर्नुभएको थियो । सो अवसरमा बोल्दै प्रदेश सांसद पराजुलीले देशका विभिन्न स्थानमा नमुना सामुदायिक वनहरू रहेको उल्लेख गर्दै ती वनहरूको अवलोकन गरेर धेरै कुरा सिक्न सकिने बताउनुभयो । नमुना वनहरूको माध्यमद्धारा सीपमुलक, क्षमता मुलक सीपहरू हासिल गरेर आयआर्जनसँग जोड्न सकिने सांसद पराजुलीको भनाई थियो ।
धनकुटा जिल्लामा हालसम्म तीन सय ५७ भन्दा बढी सामुदायिक वनहरू रहेका छन् भने ती मध्ये दुई सय २० वटा सामुदायिक वन उपभोक्ता समुहहरू क्रियाशिल रहेको सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष निलबहादुर थापाले बताउनुभयो । जिल्ला महासंघको चौथो जिल्ला परिषद्मा जिल्लाका सातै पालिकाका महासंघहरूको सहभागिता रहेको थियो ।
