काठमाडौं । धितोको मूल्य घट्दै जाँदा बैंकहरूले मूल्यांकनकर्तालाई कालोसूचीमा राख्न थालेपछि मूल्यांकनकर्ताहरू चिन्तित भएका छन् ।
नेपाल भ्यालुयर्स (मूल्यांकनकर्ता) एसोसिएसनले धितोको मूल्य बढेको समयमा भएको मूल्यांकन र अहिले कारोबार कम हुँदा भएको मूल्यांकनको विषयलाई लिएर बैंकहरूले मूल्यांकनकर्तालाई कालोसूचीमा राख्न नहुने तर्क गरेको छ ।
एसोसिएसनका अध्यक्ष इन्जिनियर सञ्जयकुमार महतोले बैंकहरूले नेपाल राष्ट्र बैंकको निर्देशिका देखाएर कालोसूचीमा राख्न थालेको बताउनुभयाे ।
कोभिड अगाडि र पछाडिको मूल्यांकनमा दुई तिहाइ नपुगे मूल्यांकनकर्ताहरूलाई कालोसूचीमा राख्ने गरेको उहाँको भनाइ छ ।
‘यसले गर्दा मूल्यांकनकर्ताहरूमा निराशा छ । यही अवस्था रहे मूल्यांकन गर्ने/नगर्ने भन्ने विषय अन्योल हुन्छ,’ उहाँले भन्रुभयाे ।
हाल देशका हरेक ठाउँमा धितोको मूल्यांकन औसतमा ३० प्रतिशतभन्दा धेरैले घटेको उल्लेख गर्दै उहाँले मूल्यांकनकर्ताहरूलाई कालोसूचीमा राख्न नहुने बताउनुभएकाे छ ।
केन्द्रीय सल्लाहाकार इ. लक्ष्मणबाबु सेढाईले आफूहरूले बैंक र बैंकका ग्राहक बीचमा समन्वयको काम गर्ने भएकाले कालोसूचीमा राख्नु गलत भएको बताउनुभयाे ।
उहाँले भन्रुभयाे, ‘बैंकहरूले मूल्यांकनकर्ताहरूलाई कारबाही गर्नतर्फ लाग्दा समस्या आउने देखिएको छ ।’
अहिले धितोका रूपमा राखिने जग्गा र अन्य मेसिनरी सामानहरूको मूल्य घटेको भन्दै उहाँले यो अवस्थामा बैंकहरूले सोचेर काम गर्नुपर्नेमा जोड दिनुभयाे ।
यस्ता गतिविधिले इञ्जिनियरहरू पलायन हुने अवस्था आउने उहाँको भनाइ छ ।
एसोसिएसनका कोशी प्रदेश अध्यक्ष इ.आमोदराज आचार्यले कालोसूचीमा राख्ने कानुनी मान्यता नरहेको भए पनि बैंकहरूले कारबाही गर्ने गरेको बताउनुभयाे ।
पहिलोपटक गरेको मूल्यांकनको दुई तिहाइ नपुग्दा समस्या भएको उहाँको भनाइ छ ।
एसोसिएसन चितवन च्याप्टरका अध्यक्ष सञ्जयचन्द्र न्यौपानेले बैंकका ऋणीहरूलाई सहजीकरण गर्ने मूल्यांकनकर्ताहरूलाई हतोत्साहित बनाउने काम बैंकहरूले गरेको उल्लेख गर्नुभयाे ।
बैंकहरूले दोस्रो पटक मूल्यांकन गर्ने र ऋणीहरूको धितो कम मूल्यमा लिलाम गर्ने गरेको उहाँको भनाइ छ ।
चितवन च्याप्टरका संस्थापक अध्यक्ष इ.ईश्वरीप्रसाद कौडालले अहिले अस्वस्थ प्रतिस्पर्धाका कारण मूल्यांकनकर्ताहरूमा समस्या आउन थालेको बताउनुभयाे ।
नेपाल इञ्जिनियर्स एसोसिएसन भरतपुर केन्द्रका अध्यक्ष कृष्ण रिजालले समय र परिस्थितिअनुसार धितोको मूल्य घटबढ हुने कुरालाई बैंकहरूले बुझ्नुपर्ने बताउनुभयाे ।
नेपाल भ्यालुयर्स एसोसिएसनमा अहिले चार हजारभन्दा बढी इञ्जिनियर आबद्ध छन् ।
