काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सह–महामन्त्री सुमना श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।
सभापति रवि लामिछाने हिरासतबाट फर्किएको दिनमै श्रेष्ठले औपचारिक रूपमा राजीनामा बुझाउनु भएको हो । रास्वपाका एक नेताका अनुसार उहाँले सभापति लामिछानेसमक्ष नै आफ्नो राजीनामा पेश गर्नु भएको हो ।
लामो समयदेखि राजीनामा दिने सोचमा रहनुभएकी उहाँले, सभापति लामिछाने हिरासतमा रहनु भएकाले तत्काल निर्णय नगरेको स्पष्ट पार्नु भएको छ ।
उहाँले हालसम्म सार्वजनिक रूपमा आफ्नो राजीनामाबारे औपचारिक धारणा सार्वजनिक गर्नुभएको छैन । उहाँले केन्द्रीय समिति बैठकमा आफ्ना विचारहरू प्रस्तुत गर्ने तयारीमा रहनु भएको जनाइएको छ ।
लामिछाने सहकारी प्रकरणमा मुछिएपछि रास्वपाभित्र तीव्र विवाद चुलिएको छ । स्रोतले दिएको जानकारीअनुसार एक व्यक्ति एक पदको नीति पार्टीमा माथिदेखि तलसम्मै कार्यान्वयन हुनुपर्ने धारणा उहाँको रहेको छ ।
आफू संसद्मा केन्द्रित रहनुपर्ने भएकाले पनि पार्टीको सहमहामन्त्रीको जिम्मेवारीमा रहन नसक्ने उहाँको धारणा रहेको स्रोत बताउँछ ।
“पुस्तान्तरणका लागि गर्नुपर्ने कुरा के हो भन्ने कुनै पनि पार्टीमा देखिएन,” श्रेष्ठ निकट स्रोतले भन्यो, “पदमा जहिले पनि टाँसिएर बस्नुको औचित्य छैन । बोली र व्यवहारमा एकरूपता ल्याउनैपर्छ भनेर उहाँले राजीनामा दिनुभएको हो ।”
यता, रास्वपाले आजका लागि केन्द्रीय समिति बैठक आह्वान गरेको छ । पार्टीभित्र सहकारी प्रकरणलगायत विषयमा उत्पन्न भएको विवाद समाधानका लागि बैठक महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
