सन्तोष रूचाल, धनकुटा । १७ औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधी नमोबुद्ध युथ फुटबल क्लब सप्तरीले जितेको छ ।
धनकुटाको तल्लोटुँडिखेलमा आज सम्पन्न भएको फाइनल खेलका गाईघाट फुटबल क्लब उदयपुरलाई टाईब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै नमोबुद्ध युथ फुटबल क्लब सप्तरीले उपाधी जितेको हो ।
जितसँगै नमोबुद्धले नगद चार लाख उनान्सय हजार नौ सय नौ रुपैयाँ, मेडल र ट्रफी हात पारेको छ भने उपविजेता गाईघाटले नगद दुई लाख ५० हजारमा चित्त बुझाएको छ । निर्धारित समयमा दुबै टीमले दुई-दुई गोल गरेपछि खेलको छिनोफानो टाईब्रेकरद्धारा गरिएको थियो ।
टाईब्रेकरमा नमोबुद्ध युथ फुटबल क्लब सप्तरीका सनम धिमाल, आयुश मगर, हेमन्त भुजेल, विवेक राई र प्रवेश दनुवारले गोल गर्नुभयाे । गाईघाट फुटबल क्लब उदयपुरका आकाश राई, प्रविन राई र निशल मुखियाले गोल गर्नुभयाे भने धिरेन क्षेत्रीको बललाई नमोबुद्धका गोलकिपर नविन बस्नेतले रोक्न सफल हुनुभयाे ।
खेलको वेष्ट गोलकिपर नमोबुद्ध युथ फुटबल क्लब सप्तरीका रबिन बस्नेत घोषित भएसँगै नगद सात हजार ५ सय ५५ रुपैयाँ हात पार्नुभयाे भने वेष्ट प्लेयर अफ दी म्याच पनि बस्नेत नै घोषित हुनुभयाे । यसतर्फको पनि नगद पाँच हजार पाँच रुपैयाँ पुरस्कार उहाँले पाउनुभयाे । प्रतियोगितामा विजेता तथा उपविजेता टीमलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, संविधान सभा सदस्य मनोहरनारायण श्रेष्ठ, सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएकाे थियाे ।
सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाको आयोजनमा चैत १७ गतेदेखि सुरू भएको १७ औं सहिद भीमनारायण गोल्डकप प्रतियोगितामा ८ वटा टीमको सहभागीता रहेको थियो । यस संस्करणमा मात्र पहिलो पटक सहभागी भएका नमोबुद्ध युथ फुटलब क्लब सप्तरी र गाईघाट फुटबल क्लब उदयपुर पहिलो पटकको सहभागीतामा नै विजेता र उपविजेता बन्न सफल भएका थिए ।
