कुलमान घिसिङको बर्खास्तीविरूद्ध राप्रपाको विरोध प्रदर्शन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको विरोधमा बिहीबार पनि प्रदर्शन जारी रहेको छ । सरकारको निर्णयको विरोधमा विभिन्न समूह तथा राजनीतिक दलहरूले प्रदर्शन गर्दै आएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई पदमुक्त गरी हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको नयाँ कार्यकारी निर्देशकको रूपमा नियुक्त गरेको थियो । सरकारको यो निर्णयलाई ‘निरंकुश’ भन्दै विभिन्न राजनीतिक तथा नागरिक समूहहरूले असन्तुष्टि जनाउँदै आएका छन् ।

बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले माइतीघर मण्डलामा विरोधसभा आयोजना गरेका थिए । प्रदर्शनका क्रममा ‘लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन !’, ‘मन्त्रिपरिषद्को भ्रष्ट निर्णय खारेज गर !’ जस्ता नारा लगाइएको थियो ।

प्रदर्शनकारीहरूले कुलमान घिसिङको नेतृत्वमा देशले लोडसेडिङमुक्त भएको र उहाँको पुनर्बहाली आवश्यक रहेको बताएका छन् । विभिन्न सामाजिक सञ्जालहरूमा पनि घिसिङको समर्थनमा अभियानहरू चलिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *