काठमाडौं । शहिद मान बहादुर स्मृति कप फुटबल प्रतियोगिताको उपाधिका लागि वडा नं १ टिम र वडा नं ८ टिम भिड्दैछन् ।
उक्त खेल फर्पिङ खेलकुद मैदानमा बुधबार(आज) दिउँसो १ः४५ बजेबाट फाइनल सुरू हुनेछ । सेमिफाइनलमा वडा नं १ ले वडा नं ६ लाई र वडा नं ८ ले वडा नं ५ लाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका थिए ।
सोमबार दुवै टिमको उपस्थितिमा आयोजकले प्रि-सक्सेस सेलेब्रेसन मार्फत फाइन खेलको सम्पूर्ण तयारी पूरा भएको सन्देश दिएको छ भने दुवै टिमका खेलाडी उपाधी चुम्न आ-आफ्नो तयारीमा छन् ।

शहिद मान बहादुर स्मृति प्रतिष्ठानको आयोजना र दक्षिणकाली नगरपालिकाको सहकार्यमा आयोजित यो फुटबल प्रतियोगिताको विजेताले १ लाख ५१ हजार एक सय ११ र उपविजेताले ७५ हजार एक सय ११ नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिने प्रतियोगिताका संयोजक सुमन तामाङले जानकारी दिनुभयो ।
सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडी र टिमलाई फेयर प्ले अवार्ड लाई ट्रफी, प्रमाण पत्र लगायतले सम्मान गरिने छ । फाइनल खेलमा चर्चित महिला फुटबल खेलाडी प्रीति राई विशेष अतिथिको रुपमा आउनुहुनेछ । प्रमुख अतिथिको रूपमा प्रतिनिधि सभाका सदस्य सांसद लेखनाथ दाहाल(राजन) रहनुहुनेछ । फाइनल खेलअघि केही सांगितिक प्रस्तुती रहनेछ ।
प्रतियोगितामा नगरपालिकाका वडा नं ३ बाहेक ८ वटा वडाका ८ टोलीले सहभागिता जनाएका थिए । फाइनल खेल खेलको प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । प्रत्यक्ष प्रशारण खेल दृश्य, दिप श्री क्रियटिम मिडिया,नयाँ सञ्चार डट कम र दक्षिणकाली खबरबाट प्रत्यक्ष प्रशारण हुनेछ ।
