काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सवार विमान काठमाडौंमा अवतरण गर्न नसकेपछि भारतको कोलकाता ‘डाइभर्ट’ गरिएको छ । मौसममा बदलीका कारण विमान अवतरण गर्न नसक्दा कोलकाता डाइभर्ट गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयाे ।
दोहाबाट काठमाडौंका निम्ति आएको कतार एयरवेजको क्यूआर६५२ विमान कोलकाता डाइभर्ट गरिएको हो । शुक्रबार (फागुन १६) मौसम बदलीले काठमाडौंमा विमान उडान र अवतरणमा समस्या भएको उहाँले बताउनुभयाे । काठमाडौं उपत्यकाबाहिर पनि अधिकांश विमानस्थलमा ‘भिजिबिलिटी’को समस्या रहेको उहाँले जानकारी दिनुभयाे ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा सहभागी भएर परराष्ट्रमन्त्री राणा स्वीट्जरल्यान्डको जेनेभाबाट शुक्रबार स्वदेश फर्कंदै हुनुहुन्थ्याे । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही फागुन १० गते उहाँ जेनेभा प्रस्थान गर्नुभएकाे थियाे ।
