रेसुङ्गा विमानस्थलमा फागुनभरि उडान नहुने

गुल्मी । रेसुङ्गा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाज ले उडान भर्दै आएको थियो ।

एयरलाइन्सका रेसुङ्गा कार्यालयका प्रमुख सुमन थापाका अनुसार उडान उठान भर्दै आएको जहाजमा समस्या देखिएपछि हाललाई उडान स्थगन भएको हो ।

साना जहाज नेपाल एयरलाइन्समा दुईवटा छन् ।

‘एउटा जहाज पहिले नै बिग्रिएको र बाँकी अर्को जहाजको पनि इन्जिनमा समस्या आएपछि उडानमा समस्या आएको हो । जहाज हाल बिग्रेर मर्मतका लागि काठमाडौंमा छ,’ उहाँले भन्रुभयाे, ‘फागुनभर पनि उडान हुने कुनै सम्भावना छैन ।’

उहाँले विदेशबाट सामग्री ल्याएर बनाउनुपर्दा समय बढी लागेको बताउनुभयाे ।

रेसुङ्गा विमानस्थलमा पछिल्लोपटक एयरलाइन्सले २०८१ मङ्सिर २४ मा तम्घास–काठमाडौं उडान भरेको थियो ।

विसं २०७९ वैशाख ३ गते पहिलो उडान भएको विमानस्थलमा झण्डै २० महिनामा ९० वटामात्र उडान भएका छन् ।

उक्त उडानमध्ये तम्घास–काठमाडौं एक हजार १६५ र काठमाडौं–तम्घास एक हजार ८८ यात्रीले सेवा पाएको स्टेशन इन्चार्ज थापाको भनाइ छ ।

जहाजले एकपटकमा १९ जनासम्म यात्री बोक्न सक्छ । विमानस्थलमा उडान भए पनि कर्मचारी भने तीनजना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *