भरतपुर वितरण केन्द्रले काट्यो ३६८ ग्राहकको बिजुली

चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ३६८ जना ग्राहकको लाइन काटेको छ । समयमा विद्युत् महसुल नबुझाउने उनीहरूको लाइन गत साउनयता काटिएको हो ।

कार्यालयका प्रमुख ई. रामु श्रेष्ठकाअनुसार साउनदेखि पुस मसान्तसम्म महसुल नतिर्ने उनीहरूको लाइन काटिएको हो ।

यस अवधिमा एक हजार ४५६ जनाले बक्यौता रकम तिरेका छन् । उनीहरूबाट दुई करोड ८२ लाख २१ हजार ९१६ राजस्व संकलन भएको छ ।

प्रमुख श्रेष्ठका अनुसार एक हजार ६६८ जना ग्राहकबाट ४ करोड १३ लाख ९५ हजार ५६७ बक्यौता उठाउन बाँकी थियो ।

वितरण केन्द्रले पुस मसान्तसम्म २८१ जना ग्राहकलाई कालोसूचीमा राखेको छ ।

उनीहरूबाट एक करोड पाँच लाख ४६ हजार १८८ बक्यौता उठाउन बाँकी छ । वितरण केन्द्र प्रमुख श्रेष्ठले भन्नुभयो, ‘नेपाल विद्युत् प्राधिकरणको प्रचलित विनियम अनुसार ६ महिनासम्म महसुल नबुझाएका ग्राहकलाई कालोसूचीमा राख्ने प्रावधान छ ।’

भरतपुर वितरण केन्द्रमा मासिक महसुल बुझाउने ग्राहकमध्ये ६२ प्रतिशतले अहिले अनलाइनबाट महसुल बुझाउने गरेका छन् ।

यस केन्द्रमा हाल ७२ हजार बढी ग्राहक छन् ।

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *