अब बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य, झन्झट मुक्त कारोबार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले अब ग्राहकको पहिचानका लागि राष्ट्रिय परिचयपत्र (एनआईडी) को प्रयोग गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकले केही दिनअघि बैंक तथा वित्तीय संस्थालाई एनआईडीको प्रयोग गर्न निर्देशन दिएको थियो ।

सरकारले गएको असार १० गते राजपत्रमा प्रकाशित सूचना मार्फत विभिन्न सार्वजनिक सेवामा राष्ट्रिय परिचयपत्रको प्रयोग अनिवार्य गरेको थियो । सोही अनुरूप बैंक तथा वित्तीय संस्थाले अब एनआईडी नम्बरका आधारमा नागरिकको विवरण प्रमाणित गर्न सक्ने व्यवस्था गरिएको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले जानकारी दिनुभयो ।

एनआईडी प्रयोगले बैंकिङ सेवा सहज

अब बैंकिङ सेवाका लागि एनआईडी नम्बर मात्रै प्रस्तुत गर्दा पर्याप्त हुनेछ । यसले ग्राहकलाई धेरै कागजात बोकेर हिँड्नुपर्ने झन्झट कम गर्नेछ । प्रवक्ता पौडेलका अनुसार राष्ट्र बैंक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र क्रेडिट इन्फरमेसन ब्युरो (कर्जा सूचना केन्द्र लिमिटेड) बीच समन्वय गरेर प्रणाली लागू गरिएको छ ।

कर्जा सूचना केन्द्रका प्रवक्ता विजय कुँवरका अनुसार, माघ १ गतेदेखि नै सीकेवाईसी प्रणाली सञ्चालनमा ल्याइएको छ। “यस प्रणालीले एनआईडी नम्बरका आधारमा ग्राहकको विवरण स्वचालित रूपमा प्रमाणित गर्छ, जसले बैंकिङ प्रक्रियालाई सुरक्षित र प्रभावकारी बनाउँछ,” उहाँले भन्नुभयो ।

राष्ट्रिय परिचयपत्रबाट ठगी तथा अनियमितता रोकथाम

एनआईडीमा बायोमेट्रिक विवरण (औँठाछाप, आँखा स्क्यान) सुरक्षित भएकाले सेवा लिन आउने व्यक्ति वास्तविक हो वा होइन भन्ने प्रमाणित गर्न सकिन्छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक शिवराज सेढाइँका अनुसार, पुरानो नागरिकता प्रयोग गरी ठगी गर्ने सम्भावना रहन्छ, तर एनआईडीले वास्तविक पहिचान सुनिश्चित गर्छ । “अर्काको नागरिकता प्रयोग गरेर हुने ठगी तथा दोहोरो लाभ लिने घटनाहरू यस प्रणालीले नियन्त्रण गर्न मद्दत गर्छ,” उहाँले भन्नुभयो ।

चार अर्ब रुपैयाँ बचत

एनआईडीको प्रयोग गरी भत्ता वितरण गर्दा वास्तविक तथ्यांक समेटिएको र यसले करिब चार अर्ब रुपैयाँ बचत भएको विभागले जनाएको छ । गएको असारमै राजपत्रमा प्रकाशित सूचनामा सामाजिक सुरक्षा, निवृत्तिभरणसम्बन्धी सेवा र व्यक्तिगत आयकर दर्ताका निम्ति राष्ट्रिय परिचयपत्र अनिर्वाय गरिएको थियो ।

यस्तै, सवारीचालक अनुमति, कम्पनी दर्ता तथा नवीकरण, बैंकिङ तथा वित्तीय सेवा, टेलिफोन तथा सिमकार्ड, सामाजिक सुरक्षा कोष र घरजग्गा किनबेचमा पनि नागरिकताको ठाउँमा राष्ट्रिय परिचयपत्र प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । यीसहित व्यक्तिगत विवरण चाहिने सेवामा क्रमिक रूपमा एनआईडीको प्रयोग गरिँदै जाने विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *