सरोज मगराती, काठमाडौँ । हिमालयन कृषि उद्योग लिमिटेड, नेपालले आफ्नो प्रथम साधारण सभा २०८१ साल पुस १३ गते शनिबारका दिन सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न गर्यो ।
कार्यक्रमका प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम राष्ट्रपति सम्माननीय डा. रामवरण यादवले दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभएको थियो । गणतन्त्र नेपालको उद्घाटनपछि राष्ट्रिय गान प्रस्तुत गरिएको थियो।
श्रव्यदृश्य प्रदर्शन
उक्त प्रथम साधारणसभाको कार्यक्रम सुरूवात कृषि क्षेत्रमा सकारात्मक रूपान्तरण ल्याउन विभिन्न क्षेत्रका विज्ञहरू जोडिएर तय गरिएको अनुभव र कम्पनीको यात्रा समेटिएको श्रव्यदृश्य प्रदर्शनबाट गरिएको थियो।
कार्यक्रममा हिमालयन कृषि उद्योग लिमिटेडका कार्यकारी अध्यक्ष सागर उप्रेतीले कम्पनीले उत्पादनदेखि वितरण र निर्यातसम्मका सम्पूर्ण समाधान प्रदान गर्ने बताउँदै, नेपाल कृषि प्रधान देश भए पनि कृषिप्रति बेवास्ता गरिनु दुर्भाग्य रहेको औँल्याउनुभयो । उहाँले त्यस कार्यक्रममा, आफूले खाद्य सुरक्षालाई प्रमुख जिम्मेवारीका रूपमा लिएको बताउनुभयो ।
नयाँ पुस्ताका कृषि कर्मीहरूलाई “भविष्य यहीँ छ”
नयाँ पुस्ताका कृषि कर्मीहरूलाई “भविष्य यहीँ छ” भन्ने सन्देश दिँदै उहाँले कृषिमा डिजिटलाइजेसन, आधुनिकिकरण र अनुसन्धानको आवश्यकता टड्कारो रहेको उल्लेख गर्नुभयो ।उचित जैविक मल उद्योग कम्पनी लिमिटेडका सञ्चालक समेत रहनुभएका संस्थापक सदस्य कृष्ण महर्जनले हिमालयन कृषि उद्योग लिमिटेडसँगको सहकार्यमार्फत नेपाललाई अनावश्यक रासायनिक मल र विषादीको दुष्प्रभावबाट बचाउन आफू प्रयासरत रहेको बताउनुभयो ।
माटो जोगाउन कम्पनीको अभियानमा सामेल हुन सबैलाई आह्वानः हेमराज भण्डारी

कार्यक्रममा आमन्त्रित अतिथि, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. प्रमोद अर्यालले नेपाली कृषि क्षेत्रका तथ्यांक र प्रविधिमाथि प्रकाश पार्नुभएत्को थियो ।
त्यस्तै, संविधानसभा सदस्य रहिसकेका र हिमालयन कृषि उद्योग लिमिटेडका अर्का संस्थापक सदस्य हेमराज भण्डारीले माटो जोगाउन कम्पनीको अभियानमा सामेल हुन सबैलाई आह्वान गर्दै पब्लिक कम्पनी भएकाले सेयर खरिदको अवसर पनि रहेको अवगत गराउनुभयो । यस्तै अर्का संस्थापक किसान अनन्त कार्कीले भने, आफ्नो कृषि कर्ममा जैविक मल प्रयोगको अनुभव सुनाउनुभएको थियो ।
“नेपालको माटो रोइरहेको छ, अवस्था बडो गम्भीर छ”
कार्यक्रमको समापन गर्दैगर्दा, पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपाली कृषि क्षेत्रमा आशा र विश्वासको नयाँ किरण देखाएकोमा कम्पनीलाई बधाई दिनुभयो । “नेपालको माटो रोइरहेको छ, अवस्था बडो गम्भीर छ” भन्दै माटोको संरक्षण गर्न सम्पूर्ण नेपालीलाई आह्वान गर्नुभयो । आफ्नो बाल्यकाल र युवा अवस्थामा देखेको कृषिसम्बन्धी अनुभव साट्दै उहाँले माटोलाई पुनः स्वर्गजस्तै बनाउन सबै पक्ष एकताबद्ध हुनुपर्ने बताउनुभयो ।
कृषिप्रधान देश नेपालको मुहार फेरिने भरोसा पलाएको महसुस
कृषि क्षेत्रका विज्ञ, वैज्ञानिक, नवप्रवर्तक एवं कृषिकर्मीहरू लगायतका ठूलो सङ्ख्यामा उपस्थित उक्त कार्यक्रमले कृषि क्षेत्रमा विविधता, आधुनिकीकरण र औद्योगिकीकरणको आवश्यकता औंल्याउँदै कृषिलाई व्यावसायिक र आत्मनिर्भर बनाउन हिमालयन कृषि उद्योग लिमिटेड प्रतिबद्ध रहेको सन्देश सम्प्रेषण गरेको थियो ।
यस अभियानले कृषिप्रधान देश नेपालको मुहार फेरिने भरोसा पलाएको महसुस भएको सहभागी सबैको आङ्कलन गरेका छन् ।
