सन्तोष रूचाल, धनकुटा । यस वर्षको प्रलेस प्रतिभा पुरस्कारबाट साहित्यकार झमक घिमिरे सम्मानित हुनुभएकाे छ । प्रगतिशील लेखक संघ (प्रलेस) केन्द्रीय समितिबाट प्रदान गरिने उक्त पुरस्कारबाट आइतबार झमक घिमिरे निवास धनकुटा नगरपालिका–६ कचिंडेमा वितरण गरिएको हो ।
प्रलेस नेपालका केन्द्रीय उपाध्यक्ष नमुना शर्मा तथा महाचिव देवी क्षेत्री दुलाल लगायतले उक्त पुरस्कार प्रदान गर्नुभएकाे थियाे । घिमिरेलाई २० हजार १ सय नगद सहित सम्मान–पत्र र दोसल्ला प्रदान गरिएको थियो ।
गत असोजमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, प्रलेस केन्द्रीय अध्यक्ष मधुसूदन गिरीको उपस्थितिमा उक्त पुरस्कारको घोषणा गरिएको थियो । प्रगतिशील वाङ्मयको उन्नयनमा उच्च योगदान पुर्याएका व्यक्तिलाई प्रत्येक वर्ष उक्त पुरस्कार प्रदान गरिने प्रलेस केन्द्रीय समितिका उपाध्यक्ष नमुना शर्माले बताउनुभयाे ।
पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईं, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल लगायतले पुरस्कृत व्यक्तित्व साहित्यकार झमक घिमिरेको बारे धारणा राख्नुभएकाे थियाे ।
घिमिरे पछिल्लो समय स्वास्थ्यमा समस्या भई उपचारका क्रममा हुनुहुन्छ । घिमिरेले ‘जीवन काँडाकी फूल’ नामको कृतिका लागि मदन पुरस्कार प्राप्त गर्नुभएकाे थियाे ।
२०५३ सालदेखि लेखन सुरू गर्नुभएकी झमकले राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाहरूमा स्तम्भहरू लेख्नुभएकाे छ । उहाँका संकल्प, आफ्नै चित्ता, अग्निशिखातिर, मान्छे भित्रका योद्धाहरू लगायतका दर्जनौं कृतिहरू प्रकाशित भएका छन् । उहाँले कविता बाल साहित्य प्रतिभा पुरस्कार (२०५५), अस्वीकृत विकार साहित्य पुरस्कार (२०५६), लैनसिंह वाङ्देल पुरस्कार (२०७२), प्रवल गोरखा दक्षिण बाहु चौथो लगायतका पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएकाे छ ।
