वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो

वीरगन्ज । वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल पैठारी बढेको छ ।

चालु आर्थिक वर्षको पाँच महिनामा डिजेलको आयात १.१३ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

सो अवधिमाराजस्व सङ्कलनमा पनि ६.९१ प्रतिशतले गिरावट आएको छ । आर्थिक वर्ष  २०८१/८२ को पाँच महिनामा ३२ अर्ब ३५ करोड २६ लाख ८८ हजारको तीन लाख ६६ हजार ७१९ किलोलिटर डिजेल आयात भएको थियो ।

गत आर्थिक वर्षको सोही अवधिमा भने ४० अर्ब ३६ करोड ५० लाख १५ हजारको तीन लाख ७० हजार नौ सय २० किलोलिटर डिजेल आयात भएको थियो । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा डिजेल आयात घटे पनि पेट्रोल आयातमा भने वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा रु १६ अर्ब २१ करोड दुई लाख २७ हजार पर्ने एक लाख ८८ हजार ३४५ किलोलिटर पेट्रोल आयात भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा भने १६ अर्ब ३९ करोड ८० लाख ६० हजार पर्ने एक लाख ६२ हजार ४६ किलोलिटर पेट्रोल आयात भएको थियो ।

गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा पेट्रोलको आयात १६.२३ प्रतिशत र राजस्वको आधारमा भने १२.५२ प्रतिशतले बढेको उक्त कार्यालयले जनाएको छ ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्याङ्करबाट नै पैठारी हुँदै आएको छ । नेपाल आयल निगमले यो महिनाभित्रै पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाट ल्याउने गरी तयारी थालेको जनाएको छ ।

यसैबीच, नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले पूर्वाधार निर्माणको समय सुरू भएकाले अब क्रमशः पेट्रोलियम पदार्थको खपत वृद्धि हुने बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *