उपनिर्वाचन: हेटौँडा–१२ मा चुनावी सरगर्मी बढ्दो

बागमती । प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही मङ्सिर १६ गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको टुङ्गो लगाएका छन् ।

गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट सो वडाको वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त भएको हो ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार मंसिर २ गते उम्मेदवारी मनोनयन दर्ता हुनेछ ।

नेपाली कांग्रेसले अर्जुन तिवारीलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस हेटौंडा नगर समितिका सभापति उत्सव इटेनीले बताउनुभयो ।

नेकपा (एमाले) ले राजेश नगरकोटीलाई उम्मेदवारका रूपमा प्रस्तुत गरेको छ भने नेकपा (माओवादी केन्द्र) ले रविन प्रधानलाई उम्मेदवार बनाएको छ ।

ठूला दलसँगै नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवार टुङ्गो लगाएका छन् ।

पार्टीको वडा, नगर र जिल्ला कार्यसमितिको संयुक्त बैठकले आशा वीरबललाई उम्मेदवार बनाउने निर्णय गरेको रास्वपा हेटौंडा नगर सभापति ध्रुवबहादुर विष्टले बताउनुभयो ।

एकीकृत समाजवादीले बलराम बल र राप्रपाले प्रेम लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उपनिर्वाचन नजिकिएसँगै सो वडामा चुनावी सरगर्मी पनि बढेको छ । गत निर्वाचनमा प्रमुख तीन दलबीच नै प्रतिस्पर्धा भएको थियो।

मंसिर १६ गते यहाँ उपनिर्वाचन हुँदैछ।

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *