काठमाडौं। प्यालेष्टिनी आतंकवादी समूह हमासले इजरायलमाथि आक्रमण गरेको एक वर्ष पुगेको सम्झनामा काठमाडौंस्थित इजरायली दूतावासले स्मृति सभाको आयोजना गरेको छ । नेपालसहित विश्वभर एकसाथ आयोजित स्मृति सभामा आतंकवादी समूह हमासद्वारा विभत्स हत्या गरिएका १० जना नेपाली विद्यार्थीसहित १२ सयभन्दा बढी इजरायली र विदेशी नागरिकहरुको सम्झना गरिएको छ ।

कार्यक्रममा आतङ्कवादी आक्रमणमा मारिएकाहरुको आत्माको शान्तिको कामना गर्दै मौन धारण गर्नुका साथै अझै हमासको कब्जामा रहेका एक सय एक बन्धकहरुको सुरक्षित रिहाइका लागि प्रार्थना गरिएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमास समूहले गरेको आक्रमणमा नेपाललाई पुगेको क्षतिको घाउ अझै पनि पुरिन बाँकी रहेको बताउनुभयो । सो समयमा साउद नै परराष्ट्रमन्त्री हुनुहुन्थयो । उहाँ त्यतीबेला नेपालीहरूलाई उद्धार गर्न आफैं इजरायल पुग्नुभएको थियो ।
पूर्वपरराष्ट्रमन्त्री साउदले भन्नुभयो, ‘यो भयावह घटनाको सामना गर्दै त्यतिवेला चुनौतीपूर्ण र पीडादायी अवस्थामा काम गर्नुपरेको थियो। इजरायल सरकारको सहयोगमा नेपाली नागरिकहरूको सुरक्षित उद्धार र मृतकको शव नेपाल ल्याउन सकियो र घाइते विद्यार्थीहरूको इजरायलमै उपचार भएको थियो।’
पूर्वमन्त्री साउदले हमासले बन्धक बनाएका कन्चनपुरका विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाईको लागि पहलहरु जारी नै रहेको बताउनुभयो । सम्बोधनकै क्रममा आतंकवादका लागि कुनै पनि स्थान नरहेको भन्दै हमासको बर्बरतापूर्ण आक्रमणको कडा निन्दा पनि गर्नुभयो ।

साथै, नेपालका लागि इजरायलका राजदूत हनान गोडरले आतंकवादविरुद्ध विश्वव्यापी एकताको खाँचो रहेको जिकिर गर्नुभयो ।
इजरायल आफ्नो आत्मरक्षा गर्न सक्षम र कटिवद्ध रहेको भन्दै यसका लागि कदापी पछि नहट्ने उहाँको भनाइ छ । राजदूत गोडरले हमासको आक्रमणमा मारिएका नेपाली विद्यार्थीको परिवार र घाइते भएका नेपाली विद्यार्थीहरुप्रतिको उत्तरदायित्वलाई इजरायल सरकारले आफ्नै नागरिकसरह नै बहन गर्ने जानकारी पनि दिनुभयो ।

स्मृति सभामा हमासले बन्धक बनाएका इजरायली र नेपाली नागरिकले भोगेको अमानवीयता र आतंक समेटिएको भिडियोका साथै हमास आक्रमणमा भएको अमानवीय बर्बरतापूर्ण गतिविधिहरू समेटिएको फोटो प्रदर्शनी पनि गरिएको थियो ।

हमासले सुरू गरेको इजरायल विरूद्धको आक्रमण एकवर्ष पुग्दा समेत रोकिएको छैन तर हमासको समर्थनमा इरान, इराक, लेवनान र सिरियाबाट समेत आतंकवादी समुहहरूले एकसाथ आक्रमण गरिरहेका छन्। इजरायलले निरन्तर त्यसको प्रतिरक्षा गर्दै जवाफी हमला गरिरहेको अवस्था छ ।

२१ असोज ०८० मा इजरायलमा हमास समूहले आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।
इजरायलका राजदूत हनान गोडरको सम्बोधनको पूर्णपाठः
