सिमकोट । जिल्लाको दक्षिण भेगको चंखेली गाउँपालिकामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप चंखेली–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको मुगु सडकको गौरीसल्लामा दुर्घटना भएको छ । चालकसहित सातजना सवार जिप दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएको र दुईजनाको अवस्था सामान्य छ ।
चंखेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, १५ वर्षीय रविन शाही र मुगुको छायाँनाथ नगरपालिका–१३ का ४० वर्षीय पृथ्वी रावत र रमेश मल्ल गम्भीर घाइते हुनुहुन्छ । बाजुरा बुढीनन्दा नगरपालिका–४ का सावरी चालक महेन्द्रविक्रम शाह र चंखेली–२ का मायादेवी शाही सामान्य घाइते हुनुभएकाे छ ।
दुर्घटना हुनासाथ मिमी प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खण्डाको नेतृत्वमा खटिएको सातजनाको टोली घटनास्थलमा पुगेर उहाँहरूको उद्धार गरिएको प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयाे ।
गौरीसल्लामा दुर्घटना भएको जिप सोही स्थानको मोडमा मोड्ने क्रममा सडकबाट १५० मिटर तल खसेको प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयाे ।
