काठमाडौं । भारतीय गीत ‘दिलरुवा’ अहिले नेपाली सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । गीत सार्वजनिक भएपछि यसको संगीत र किरात राई समुदायको मौलिक सांस्कृतिक नृत्य साकेला सिलीको धुनबीच समानता रहेको भन्दै बहस सुरू भएको हो ।
भारतीय गायक रितो रिबाको स्वर रहेको ‘दिलरूवा दिलनशीन’ गीतको धुन सुन्दा साकेला सिलीको भाका सम्झाउने भन्दै सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । कतिपयले नेपाली मौलिक संस्कृतिको धुन भारतीय गीतमा प्रयोग भएको भन्दै प्रश्न उठाएका छन् भने कतिपयले यसलाई संयोग वा सांगीतिक समानताका रूपमा व्याख्या गरेका छन् ।
गीतको धुन साकेला सिलीबाटै लिइएको हो वा संयोगवश मिल्न गएको हो भन्ने विषयमा भने अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन ।
नेपालको किरात राई समुदायको पहिचान र संस्कृतिसँग जोडिएको साकेला सिलीको धुनसँग भारतीय गीतको समानता देखिएपछि मौलिक संस्कृति र सांगीतिक अधिकारको विषयसमेत चर्चामा आएको छ ।
गीतले लोकप्रियता पाइरहँदा यसको धुनको स्रोतबारे उठेको प्रश्नले नेपाली मौलिक संगीत र संस्कृतिको संरक्षणबारे नयाँ बहस सिर्जना गरेको छ ।
